NTEAN महाधिवेशनमा बहुमत प्रतिनिधिको बहिष्कार, नेतृत्व चयन विवादित

भक्तपुर – नेपाल दुरसंचार राष्ट्रिय कर्मचारी संगठन (NTEAN) को १२औं केन्द्रीय महाधिवेशन जेठ १, २ र ३ गते भक्तपुरको बोडेमा सम्पन्न भएको छ। देशभरका विभिन्न कार्यालयबाट आएका ३३४ जना प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको महाधिवेशनको उद्घाटन नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गरेका थिए।

महाधिवेशनको प्रारम्भिक सत्रमै संगठनभित्र एकता कायम राख्न सर्वसम्मत नेतृत्व चयन गरिनुपर्ने माग प्रमुख रूपमा उठेको थियो। प्रतिनिधिहरूको ठूलो हिस्साले संगठनको दीर्घकालीन हितका लागि विवादरहित सहमतिको नेतृत्व अपरिहार्य रहेको धारणा राखे पनि मणीकुमार पोखरेल नेतृत्वको समूहले उक्त प्रस्ताव अस्वीकार गरेपछि विवाद चुलिएको थियो।

संगठनको आन्तरिक सहकार्य र स्थायित्वको पक्षमा उभिएका कृष्णप्रसाद ज्ञवाली पक्षधरहरूले चुनावी प्रक्रियाबाट पछि हट्दै सर्वसम्मत नेतृत्वको अडान राखेका थिए। त्यहीबीच, पेसागत महासंघ नेपाल, सार्वजनिक संस्था कर्मचारी संगठन नेपाल लगायतका समुहतर्फबाट नेतृत्व चयनबारे संवाद जारी रहँदा निर्वाचन समितिले अन्तिम प्रयास नगरी एकपक्षीय रूपमा उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाएको गुनासो उठेको छ।

निर्वाचन समितिले औपचारिक रूपमा मनोनयन खुला गरे पनि ज्ञवाली समूहका ४१ जना सदस्यहरूले फारम नदिई अधिवेशन बहिष्कार गरेका थिए। त्यसपछि मणीकुमार पोखरेल नेतृत्वको समूहलाई “सर्वसम्मत नेतृत्व” भन्दै नयाँ कार्यसमिति गठन गरिएको थियो।

तर, बहिष्कारमा उत्रिएका प्रतिनिधिहरूले यो प्रक्रिया संगठनको बहुमत प्रतिनिधिको भावना विपरीत भएको भन्दै कडा विरोध जनाएका छन्। एक प्रतिनिधिले भने, “हामी संगठनको एकता, पारदर्शिता र सहभागितामूलक नेतृत्वको पक्षमा थियौं। तर, जुन ढंगले नेतृत्व चयन गरियो, त्यसले कर्मचारीहरूमा गहिरो निराशा पैदा गरेको छ।”

महाधिवेशन विवादास्पद रूपमा टुंगिएको हुँदा संगठनभित्र गुटबन्दी अझ बलियो हुने संकेत देखिएको छ। निर्वाचन प्रक्रियाप्रति उठेको असन्तोषले नवगठित नेतृत्वको वैधता र नैतिक अधिकारमाथि समेत प्रश्न खडा गरेको विश्लेषकहरू बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्