जनकपुर–अयोध्या सांस्कृतिक सम्बन्धले धार्मिक पर्यटनको सम्भावना बढ्छ : नेता साउद

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले जनकपुर र अयोध्यालाई सांस्कृतिक रूपमा जोड्न सके नेपालमा धार्मिक पर्यटनको व्यापक सम्भावना रहेको बताएका छन्। शनिबार महोत्तरीको जलेश्वरमा आयोजित ‘महोत्तरी महात्मा एक दिवसीय वैचारिक, सांस्कृतिक तथा ऐतिहासिक संवाद–विचार उत्सव’मा बोल्दै उनले जनकपुर र अयोध्याबीच सिधा रेल सेवा सञ्चालन गर्न सकिएको खण्डमा लाखौँ भारतीय पर्यटक नेपाल भित्रिन सक्ने उल्लेख गरे।

नेता साउदले भने, “हामीले जनकपुर र अयोध्यालाई सांस्कृतिक रूपमा जोड्न सक्यौँ, ट्रेन चलाउन सक्यौँ भने लाखौँ भारतीयहरू प्रति वर्ष नेपाल आउँछन्। यो धेरै ठूलो कुरा हुन्छ। पशुपति जान्छन्, त्यो पनि ठूलो कुरा हो। त्यस कारण यो ठाउँको धेरै ठूलो महत्व छ।”

कार्यक्रम नेपाल–भारत मैत्री युवा संघ र संवाद फाउन्डेसनको संयुक्त आयोजनामा सम्पन्न भएको हो। सो अवसरमा उनले राम–सीता कुनै एउटै भूगोल वा धर्मका मात्र नभई सम्पूर्ण मानव जातिका आदर्श पात्र भएको बताए।

नेता साउदले भने, “सीता माता–भगवान् राम भनेका एउटा भूगोल, एउटा धर्मका मात्र होइनन्। उनीहरू पुरुषोत्तम हुन्, सम्पूर्ण मानवताका हुन्, मानवताको मुक्तिका संवाहक हुन्।”

रामायण प्रसङ्ग स्मरण गर्दै साउदले भगवान् रामले बुवाको आदेशलाई स्वीकार गरेर १४ वर्ष वनवास जानु, र सीताको सम्मान र प्रतिष्ठाका लागि लडेको युद्धले मानवता र नारी सम्मानको गहिरो सन्देश दिएको उल्लेख गरे।

उनले भने, “आफ्नी श्रीमती, अर्काकी श्रीमतीलाई कसैले बलपूर्वक खोसेर लग्यो भने महिला सम्मानका लागि, इज्जतका लागि, प्रतिष्ठाका लागि युद्ध हुन सक्छ र युद्ध लडेर पनि प्रतिष्ठाको संरक्षण गर्नु पर्दछ भन्ने मान्यता भगवान् रामले स्थापित गरे।”

नेता साउदको धारणा अनुसार जनकपुर–अयोध्या सांस्कृतिक जोड मात्र नभई नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने, धार्मिक पर्यटनको ढोका खोल्ने, र जनस्तरको सम्बन्धलाई बलियो बनाउने माध्यम हुनसक्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्