राजनीति छोड्नेबारे आमासँग सोधे रेशम चौधरी, आमाको भावुक जवाफ : “अब त झन् छोड्नुहुन्न”

काठमाडौ – नागरिक उन्मुक्ति पार्टीका संरक्षक र पूर्वसांसद रेशम चौधरीले आमाको स्वास्थ्य अवस्थाका कारण राजनीति छोड्नेबारे सोचेको खुलासा गरेका छन्। आमाको उपचारका क्रममा भावुक बनेका चौधरीले आमासँग सोधेका थिए— “राजनीति छोडिदिऊँ आमा?”

रेशम चौधरी हालै आफ्नी आमाको उपचारका लागि नेपालगञ्ज पुगेका थिए। उनका अनुसार, काठमाडौँबाट फर्किएपछि आमाले फोन गर्दै भनिन्, “छोरा, मलाई रिँगटा लागिरहन्छ, उपचार गराउन नेपालगन्ज लान्छौ?” आमाको आग्रहपछि चौधरी तुरुन्तै जिल्ला अस्पताल बर्दिया पुगे।

अस्पतालमा परीक्षण भइरहँदा चौधरीकी आमा चिकित्सकसँग भावुक हुँदै भनिन्, “म बिरामी होइन डा.साप। मेरो छोरा रेशमलाई पुलिसले समातेर जेल पुर्याएको रातदेखि म सुत्न सकेकी छैन। मेरो निर्दोष छोरालाई किन पटक–पटक समातेर जेल लान्छन् हँ?”

चिकित्सकले उनलाई सान्त्वना दिँदै “अब लान्नन्” भनेपनि आमाको अनुहारमा थकान र पीडा स्पष्ट देखिएको थियो। यही भावनात्मक क्षणमा चौधरीले आमासँग साँझ खाना खाँदै गर्दा सोधे, “राजनीति छोडिदिऊँ आमा?”

आमाले केही क्षण मौनतापछि भावुक स्वरमा भनिन्, “तँैले राजनीति छोडे हामी सबै थारुहरूको बिजोग हुन्छ बा। अब त झन् छोड्नुहुन्न।”

रेशम चौधरीले आमाले त्यसपछि बोलेका शब्दहरू आफूले शब्दमा उतार्न नसक्ने बताएका छन्। उनले यो अनुभव आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्दै राजनीति, परिवार र थारु समुदायप्रतिको जिम्मेवारीबारे थप गम्भीर भएको संकेत दिएका छन्।

यो प्रसंगले रेशम चौधरीको राजनीतिक जीवन मात्र होइन, थारु समुदायप्रतिको उनको प्रतिबद्धता र पारिवारिक सम्बन्धको गहिरो भावनालाई पनि उजागर गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्