काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग पुनः गठबन्धन गर्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ। शनिबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले यस्तो जानकारी दिएका हुन्।
घिमिरेले भने, “माओवादीसँग गठबन्धन गरेर जाने भन्ने छैन। सरकार परिवर्तनको कुनै सोच वा योजना छैन।” उनका अनुसार बैठकमा सांसदहरूले गभर्नर नियुक्ति, आगामी बजेटको वितरण, र सन्तुलित विकासको आवश्यकता जस्ता विषयमा चासो व्यक्त गरेका थिए। उनले सांसदहरूको सरोकारहरू स्वभाविक रहेको पनि उल्लेख गरे।
प्रचण्डको फोन ‘संयोग मात्रै’ – महत
त्यस्तै, संसदीय दलको बैठकपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता तथा सांसद प्रकाशशरण महतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोन कललाई महज संयोग मात्र भने।
“शेरबहादुरजीकै जिल्लामा गएको बेलामा प्रचण्डजीले फोन गर्नुभएको होला। पहिला ओलीजीले गर्नुभएको थियो, मलाई पनि गर्न मन लागेको होला,” महतले भने। उनले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी उपमहासचिव जनार्दन शर्माबीचको भेट पनि सामान्य संयोग मात्रै भएको दाबी गरे।
गभर्नर, बजेट, र सन्तुलित विकासबारे छलफल
बैठकमा गभर्नर नियुक्तिका सन्दर्भमा पनि कुरा उठेको र सांसदहरूले बजेट वितरणमा सबैलाई समानरूपमा हेर्नुपर्ने र सन्तुलित विकासलाई प्राथमिकता दिनुपर्ने माग राखेको घिमिरेले बताए। उनले सांसदहरूले उठाएका केही गुनासा स्वाभाविक भएको बताउँदै कांग्रेसभित्र पनि आफ्नो धारणा राख्ने अधिकार सबैलाई रहेको स्पष्ट पारे।
यसरी, कांग्रेसले हालको सत्ताको नेतृत्व र गठबन्धनबारे कुनै फेरबदलको तयारी नभएको जनाउँदै हालसालैका राजनीतिक गतिविधिहरूलाई ‘संयोग’को रूपमा खारेज गर्ने प्रयास गरेको देखिन्छ।