काठमाडौँ — जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रहरू उच्च जोखिममा पर्दै गएका छन् भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। सगरमाथा संवाद २०२५ अन्तर्गत आज दोस्रो दिन आयोजित ‘हिमाली क्षेत्रको जोखिम र मूल्याङ्कन’ विषयक समानान्तर सत्रमा वैज्ञानिक तथा सरोकारवालाहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणमा ढिलाइ भए हिमाली समुदाय अझ जोखिममा पर्ने बताएका हुन्।
चीनको विज्ञान प्रतिष्ठानका निर्देशक डा. टाओ वाङले बृहत् रूपमा बढिरहेको तापक्रमका कारण हिमाली क्षेत्रहरूमा असामान्य प्रभाव देखिएको बताउँदै यसलाई विश्वव्यापी चिन्ताको विषय माने। स्वीट्जरल्याण्डको ज्युरिक विश्वविद्यालयका वरिष्ठ अनुसन्धान सहयोगी डा. साइमन एलनले जलवायुजन्य जोखिमसँग जुध्न स्थानीय समुदायको क्षमता अभिवृद्धि अनिवार्य रहेको बताए।
क्यानडाको बिजिजी इञ्जिनियरिङ इन्ककी वरिष्ठ भू–वैज्ञानिक इञ्जिनियर एमिली मार्कले वातावरणीय प्रणाली र विकास संरचनामा जलवायु परिवर्तनले पारेको प्रत्यक्ष असरप्रति ध्यान दिन आग्रह गरिन्। यस्तै, जापानको केइयो विश्वविद्यालयका प्रोफेसर राजीव शाँले यी समस्याको सामना गर्न स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य र समावेशी दृष्टिकोण आवश्यक रहेको धारणा व्यक्त गरे।
जर्मनीको भू–विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. निल्स होभियसले प्राकृतिक प्रकोपको पूर्वानुमान प्रणालीहरू विकास गर्न, वातावरणीय दिगोपनालाई प्रवर्द्धन गर्न तथा जलवायु प्रभावहरूको निरन्तर अनुगमनमा जोड दिनुपर्ने बताए।
सत्रमा वक्ताहरूले हिमाली क्षेत्रलाई पृथ्वीको सबैभन्दा नाजुक र गतिशील भू–प्रणालीमध्ये एक मानेका थिए। पहिरो, बाढी, हिमताल विस्फोट र हिउँपहिरोजस्ता शृङ्खलाबद्ध प्रकोपको जोखिम बढ्दै गएको र जलवायु परिवर्तनले ती जोखिमलाई अझ तीव्र बनाएको उल्लेख गरिएको थियो।
**जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (IPCC)**को छैटौँ मूल्याङ्कन प्रतिवेदन २०२३ अनुसार, पृथ्वीको तापक्रम यदि २ डिग्री सेल्सियसले वृद्धि भयो भने विश्वका अधिकांश पहाडी क्षेत्रमा कम्तीमा मध्यम स्तरको जोखिम आउनेछ भने केही क्षेत्रमा उच्च जोखिम देखिनेछ।
सत्रको सहजीकरण इञ्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. विष्णुप्रसाद पाण्डेले गरेका थिए।
सत्रले स्पष्ट पारेको छ कि हिमाली क्षेत्रको सुरक्षा र दिगो विकास सुनिश्चित गर्न जोखिम मूल्याङ्कन, पूर्वचेतावनी प्रणाली र सहकार्यपूर्ण रणनीति अबको प्राथमिकता बन्नुपर्नेछ।