शहरीकरणसँगै वायुप्रदूषण प्रमुख चुनौती: सगरमाथा संवादमा सरोकारवालाहरुको चिन्ता

काठमाडौँ— तीव्र शहरीकरण र जलवायु परिवर्तनसँगै वायुप्रदूषण गम्भीर समस्या बन्न थालेको भन्दै सरोकारवालाहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। आजदेखि सुरु भएको सगरमाथा संवादको दोस्रो दिन ‘दिगो शहरहरू र समुदायहरू’ विषयक समानान्तर सत्रमा वक्ताहरूले शहरी क्षेत्रको असहज भविष्यप्रति चेतावनी दिएका हुन्।

सत्रमा बालबालिका र वृद्धहरूमा वायुप्रदूषणका असर देखिँदै गएको र शहरहरू जलवायुजन्य विपद्का कारण असुरक्षित बन्दै गइरहेको धारणा प्रस्तुत गरिएको थियो। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले असोजमा भएको भीषण वर्षाले उपत्यकामा ल्याएको विपद् उल्लेख गर्दै यस्तो अवस्था जलवायु अनुकूलनको पाठ भएको बताए।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले अबको समय सचेत रहँदै जलवायु न्यायका लागि सशक्त आवाज उठाउनु आवश्यक रहेको बताउँदै योजनाको सुरुवातमै पूर्वतयारीमा जोड दिनुपर्ने धारणा व्यक्त गरिन्। शहरी विकास मन्त्रालयका सहसचिव पदमकुमार मैनालीले विपदमैत्री शहर विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच सुदृढ समन्वय आवश्यक रहेको बताए। साथै, शहर विकास योजनामा दीर्घकालीन दिगोपनाको दृष्टिकोण समावेश गरिनुपर्ने उनको भनाइ थियो।

ग्लोबल ग्रीन ग्रोथ सेन्टरका प्रमुख सल्लाहकार डा. बिन्धुनाथ लोहनीले विश्वको तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभित्र सीमित गर्नैपर्ने आवश्यकता औंल्याउँदै, त्यसो नगरे जलवायुजन्य संकट अझै गहिरिँदै जाने चेतावनी दिए। उनले शहरी पूर्वाधार विकासमा जलवायुमैत्री रणनीति आवश्यक भएको बताए।

भारतस्थित एग्रो फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत चरण सिंहले शहरी योजनामा हरित हाइड्रोजन, बायोमास ऊर्जा र विपदमैत्री पूर्वाधारको समावेशीकरण अपरिहार्य रहेको औंल्याए। सत्रको सहजीकरण लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गरेका थिए।
सगरमाथा संवादमा प्रस्तुत यी विचारहरूले शहरी नीति निर्माणमा जलवायु र वातावरणीय दृष्टिकोणलाई समेट्नुपर्ने आवश्यकता झन् स्पष्ट बनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्