काठमाडौं, ३ जेठ २०८२ — प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना विभिन्न ठाउँमा भट्किएकालाई वामपन्थी एकतामा ल्याउन नसकिने स्पष्ट पारेका छन्। एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले विचारमा सहमति र निष्ठाको आधारमा मात्र एकता सम्भव हुने बताए।
प्रधानमन्त्री ओलीले विचारगत स्पष्टता नभई ‘एकताका लागि एकता’को नारा उठाएर पार्टीमा देखिएको विग्रह, व्यक्तिवादी स्वार्थ र नामका लागि गरिएको एकता टिक्न नसक्ने धारणा व्यक्त गरे। उनले कम्युनिष्ट आन्दोलनमा इतिहासदेखि नै विचार नभई व्यक्तिगत स्वार्थले विभाजन ल्याउने प्रवृत्ति रहँदै आएको उल्लेख गरे।
उनले जननेता मदन भण्डारीले अगुवाइ गरेको जनताको बहुदलीय जनवाद (जबज) को अवधारणाले कम्युनिष्टहरु निरंकुश हुन्छन् भन्ने भ्रम चिर्दै लोकतान्त्रिक मूल्य, आर्थिक र सामाजिक न्याय तथा मानव अधिकारसमेत समेटिएको नीति निर्माणमा योगदान दिएको बताए।
‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा यही वैचारिक जगमा आधारित रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनताकै सामर्थ्यलाई शक्तिको मूल आधार मान्दै लोकतान्त्रिक शासन व्यवस्थाको संरक्षणमा आफूहरु दृढ रहेको बताए।
कार्यक्रममा ओलीले वर्तमान सरकारको नेतृत्व एमालेसँग रहेकाले राजतन्त्र फर्काउने प्रयासलाई प्रतिगमनको असम्भव र अस्वीकार्य कोसिसको रूपमा टिप्पणी गरे। उनले पार्टी नेतृत्वमाथि षड्यन्त्र हुँदै आएको स्वीकार गर्दै एमाले कुनै षड्यन्त्रले नटुट्ने र हरेक चुनौतीको सामना गर्न तयार रहेको दाबी गरे।
प्रधानमन्त्री ओलीले एमालेले निष्क्रिय आशा नभई सक्रिय हस्तक्षेपको नीति लिँदै आएको बताउँदै दक्षिणपन्थ, जातीयता र अराजकतावादजस्ता विकृति विश्वव्यापी आन्दोलनमा क्षतिको कारण बनेको चर्चा गरे। उनले नेपाली समाजको विविधतालाई सांस्कृतिक समृद्धिको रूपमा आत्मसात् गर्दै एकता र शान्तिपूर्ण प्रतिस्पर्धालाई प्राथमिकतामा राखिएको बताए।
भूतपूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, आश्रित पत्नी माया ज्ञवाली लगायतका नेताहरूको उपस्थिति रहेको कार्यक्रममा दिवंगत नेताहरू भण्डारी र आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा नेताहरुले मदन भण्डारीलाई दूरदर्शी नीतिकार, विचारक र रणनीतिकारका रूपमा स्मरण गर्दै उनको योगदान उच्च मूल्याङ्कन गरेका थिए।
कार्यक्रमले विचार, संगठन र नेतृत्वको सन्तुलनमार्फत कम्युनिष्ट आन्दोलनलाई समसामयिक बनाउँदै लैजाने सन्देश दिएको सहभागी नेताहरुको भनाइ थियो।