नयाँदिल्ली, मे १७ — भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का बाँकी खेलहरू शनिबारदेखि पुनः सुरु हुँदै छन्। अब हुने १४ खेलले प्रतियोगिताको प्ले–अफ समीकरण निर्धारण गर्नेछ, जहाँ सात टिम शीर्ष चार स्थानमा पर्न कडा प्रतिस्पर्धामा छन्।
हालसम्म चेन्नाई सुपर किङ्स, राजस्थान रोयल्स र सनराइज हैदराबाद प्रतियोगिताबाट बाहिरिसकेका छन्। बाँकी सात टिममध्ये गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु प्ले–अफ नजिक पुगेका छन्। दुवैको ११ खेलबाट समान १६ अंक रहेको छ।
गुजरातले दिल्ली क्यापिटल्स, लखनउ सुपर जायन्ट्स र चेन्नाईसँग खेल्न बाँकी छ। तीमध्ये एक खेलमा मात्र जित हासिल गरे पनि गुजरातको प्ले–अफ स्थान सुनिश्चित हुनेछ। यता, बेंगलुरुले कोलकाता, हैदराबाद र लखनउसँग खेल्नेछ। यदि उसले सबै खेल जित्यो र गुजरातले केही अंक गुमायो भने बेंगलुरु शीर्ष स्थानमा पुग्न सक्छ।
पञ्जाव किंग्स १५ अंकमा तेस्रो स्थानमा छ। उसको पनि प्ले–अफ पुग्ने सम्भावना बलियो छ। यदि उसले राजस्थान, दिल्ली र मुम्बईलाई हरायो भने २१ अंकमा पुग्नेछ। दुई जित भए पनि प्ले–अफ सम्भावना बलियो रहन्छ। पञ्जाव पछिल्लो एक दशकदेखि प्ले–अफबाट वञ्चित छ।
मुम्बई इन्डियन्स १४ अंकमा चौथो स्थानमा छ तर स्थिति केही जटिल बनेको छ। आफ्नो अन्तिम खेलमा गुजरातसँग हारपछि उसले अब दिल्ली र पञ्जाबलाई हराउनैपर्नेछ।
दिल्ली क्यापिटल्सका तीन खेल बाँकी छन्—गुजरात, मुम्बई र पञ्जाबविरुद्ध। अक्षर पटेलको नेतृत्वमा रहेको टिमले सबै खेल जित्नैपर्नेछ। एउटा मात्र हार भए पनि दिल्लीको सम्भावनामा धक्का लाग्नेछ।
कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सका लागि समीकरण अरूको प्रदर्शनमा निर्भर छ। कोलकाताले बाँकी दुई खेल जिते पनि उसले १५ अंक मात्रै बनाउनेछ, जुन प्ले–अफका लागि पर्याप्त नहुन सक्छ। लखनउले बाँकी खेलबाट ६ अंक चाहिएको छ र अरू टिमको हारमा पनि निर्भर हुनुपर्नेछ।
आईपीएल २०२५ अब निर्णायक मोडमा पुगेको छ। बाँकी खेलहरूले नाटकीय मोड लिँदै फ्यानहरूलाई रोमाञ्चक क्षण दिने पक्का छ।