काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको सम्झनामा आज (जेठ ३ गते) देशभर विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउँदैछ।
स्मृति दिवसको अवसरमा पार्टीका सबै प्रदेश र जिल्ला कमिटीहरूलाई स्मृति सभा तथा विविध सिर्जनात्मक कार्यक्रमहरू आयोजना गर्न निर्देशन दिइएको छ। पार्टी महासचिव शंकर पोखरेलद्वारा केही दिनअघि जारी परिपत्रमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढिरहेको एमालेले मुलुकको वाम र प्रजातान्त्रिक आन्दोलनमा मदन–आश्रितको अतुलनीय योगदानको सम्मानस्वरूप व्यापक गतिविधि गर्न आह्वान गरिएको छ।
स्मृति सभामा अन्य दलका प्रतिनिधि र सामाजिक व्यक्तित्वहरूलाई समेत आमन्त्रण गर्न पार्टीले आग्रह गरेको छ। कार्यक्रममा रक्तदान, टेलिभिजन तथा रेडियो परिसंवाद, सरसफाइ, स्वास्थ्य शिविर, वृक्षारोपण जस्ता सामाजिक क्रियाकलाप समावेश गरिनेछन्।
पार्टीले जनप्रतिनिधिहरूलाई चौतारो निर्माण, कुलो तथा पैनी सफाइ, बगैँचाको संरक्षण, खेलमैदान तथा सार्वजनिक स्थलहरूको सरसफाइ लगायत श्रमदानमा सहभागी हुन आग्रह गरेको छ। साथै, जनसङ्गठनहरूलाई सामूहिक श्रमदानमा आधारित युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिइएको छ।
देशभित्र मात्र नभई प्रवासमा रहेका कमिटीहरूलाई समेत स्मृति दिवस मनाउन परिपत्र गरिएको छ। यसैक्रममा, पार्टी केन्द्रीय कार्यालयद्वारा आयोजित मुख्य कार्यक्रम काठमाडौंको मदन नगर बल्खुमा बिहान ८ बजे हुँदैछ, जहाँ पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहनेछ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय सवारी दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो। त्यही दिनको सम्झनामा प्रत्येक वर्ष एमालेले स्मृति दिवस मनाउने परम्परा राख्दै आएको छ।