काठमाडौं — प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। शुक्रबार बसेको समितिको बैठकले विधेयक पारित गर्ने निर्णय गरेको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए। लामो समयदेखि विवादित बनेको कुलिङ पिरियड र अवकाश उमेरको विषयमा सहमति जुट्दै विधेयक पारित भएको हो।
समितिले कुलिङ पिरियड दुई वर्ष कायम गर्ने र अवकाश उमेर हालको ५८ वर्षबाट क्रमशः ६० वर्ष पुर्याउने गरी १–१ वर्षको दरले लागू गर्ने सहमति गरेको हो। विधेयकको प्रतिवेदनमा अन्तिम रूप दिन बाँकी रहेकाले यसका लागि आन्तरिक बैठक बस्ने तयारी गरिएको सभापति खतिवडाले जनाए।
विधेयकमा रहेका विवाद समाधानका लागि सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा गठन गरिएको ११ सदस्यीय उपसमितिले गोप्य बैठकमार्फत दफावार छलफल गरी प्रतिवेदन तयार पारेको थियो। उपसमितिको प्रतिवेदन समितिमा पेश भएपछि विधेयकका विवादित विषयमा मात्र थप छलफल गरिएको थियो।
संघीय निजामती सेवा विधेयकले कर्मचारी व्यवस्थापन, पदोन्नति, सरुवा र सेवाशर्तमा एकरूपता ल्याउने अपेक्षा गरिएको छ। समितिबाट पारित विधेयक अब प्रतिनिधिसभाको पूर्ण बैठकमा पेस गरिनेछ।