रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण मुद्दामा आज पनि सर्वोच्चमा सुनुवाइ

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण (हाबियस कोर्पस) सम्बन्धी रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुँदैछ। न्यायाधीश कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा बिहीबारका लागि सुनुवाइ तोकिएको हो। मिश्रलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै उनकी श्रीमती सारिका कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

यसअघि बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। सो आदेशअनुसार उनलाई अदालतमा उपस्थित गराइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिएका छन्।

मिश्र चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्। उक्त प्रदर्शन ‘संयुक्त जनआन्दोलन समिति’ र दुर्गा प्रसाईंको आह्वानमा भएको थियो। प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो भने निजी सम्पत्ति, सरकारी सवारी साधन र पार्टी कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो।

मिश्र ‘संयुक्त जनआन्दोलन समिति’का सदस्य सचिवसमेत हुन्। उनी ४७ दिनदेखि प्रहरी हिरासतमा छन्। काठमाडौं जिल्ला अदालतले मंगलबार थप ५ दिनको म्याद बढाएको छ।

यद्यपि मिश्रमाथिको अनुसन्धान र बयान लिने प्रक्रिया पूरा भइसकेको भए पनि उनलाई हाजिरी जमानीमा नछाडिएको भन्दै श्रीमती कार्कीले आपत्ति जनाउँदै आइन।

उनै आन्दोलनसँग सम्बन्धित अर्का नेता राप्रपा महामन्त्री धवल शम्शेर राणा भने स्वास्थ्य उपचारको कारण देखाउँदै हाजिरी जमानीमा छुटेका छन्।

राप्रपाले मिश्रको रिहाइको माग गर्दै विभिन्न विरोध कार्यक्रम गरिरहेको छ। आजको सुनुवाइबाट मिश्रको रिहाइ हुने वा हिरासत लम्बिने भन्नेबारे थप निर्णय हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्