काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रहरूमा गहिरो संकट उत्पन्न भएको भन्दै यसको समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता औंल्याएकी छन्।
शुक्रबार काठमाडौंमा सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रमा बोल्दै मन्त्री देउवाले हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको उल्लेख गर्दै भनिन्, “हाम्रा हिमनदीहरू जो स्वस्थ ग्रहका मौन प्रतीकहरू हुन्, तीव्र गतिमा पग्लिरहेका छन्। सहस्राब्दीयौंपछि बनेका संरचनाहरू आज हाम्रो आँखामै मौन रूपमा हराउँदै छन्।”
उनले जलवायु संकटले नेपालको पहाडी समुदायको अस्तित्वलाई नै हल्लाइरहेको बताउँदै पछिल्ला वर्षहरूमा चरम मौसमी घटनाहरू—बाढी, हिमताल विस्फोट, खडेरी, पानीको अभाव र वन डढेलोले देशभरका जनतामा गम्भीर असर पारेको बताइन्।
मन्त्री देउवाले हिमालयलाई केवल प्राकृतिक स्रोत होइन, नेपालको सांस्कृतिक सम्पदा, राष्ट्रिय गौरव र पहिचानको मेरुदण्डको रूपमा चित्रण गर्दै यसको संरक्षणका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच गहिरो सहकार्य हुनुपर्ने आवश्यकता औंल्याइन्। नेपालले पेरिस सम्झौताअनुसार कार्वन उत्सर्जन घटाउने र स्थानीय समाधानहरू लागू गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले नेपालले सन् २०४५ भित्रमा शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य लिएको जानकारी दिइन्।
उनले नेपालले अगुवाइ गरेको सामुदायिक वन कार्यक्रमले वन क्षेत्र विस्तार र संरक्षणमा उत्कृष्ट उदाहरण पेश गरेको बताउँदै जलवायु वित्तीय स्रोतहरूमा न्यायपूर्ण पहुँच आवश्यक रहेको धारणा राखिन्। “हामी पर्याप्त र पूर्वानुमानित जलवायु वित्तीय स्रोतहरूको आह्वान गर्छौं, ताकि राष्ट्रिय र स्थानीय अनुकूलन योजना कार्यान्वयन गर्न सकियोस्,” उनले जोड दिइन्।
जलवायु परिवर्तनलाई वैश्विक संकटका रूपमा चिनाउँदै मन्त्री देउवाले यसको समाधानका लागि न्यायपूर्ण वैश्विक गठबन्धनको खाँचो रहेको बताइन्।