कैलाली – सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतृत्वमा फेरबदल गरिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा खगराज भट्ट पुनः दलको नेता चयन भएका हुन्।
डडेल्धुराको एक सरकारी कार्यालयको गेस्ट हाउसमा बिहीबार बसेको बैठकले पूर्व नेता मानबहादुर धामीलाई हटाउँदै खगराज भट्टलाई पुनः दलको नेतृत्वमा ल्याउने निर्णय गरेको हो। बैठकमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’, महासचिव देव गुरुङ, उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्जसहितका शीर्ष नेताहरू सहभागी थिए।
२०८० माघ १२ मा बहुमतबाट खगराज भट्टलाई हटाई मानबहादुर धामीलाई संसदीय दलको नेता बनाइएको थियो। तर पछिल्लो राजनीतिक समीकरण र दलभित्रको सन्तुलन मिलाउने प्रयासस्वरूप नेतृत्व पुनः परिवर्तन गरिएको हो।
उपमहासचिव तथा प्रदेश इन्चार्ज हिमालय पोखरेलका अनुसार संसदीय दलका सबै सांसदहरूको उपस्थिति र सहमतिमा भट्टलाई पुनः नेता बनाउने निर्णय गरिएको हो। अध्यक्ष प्रचण्डले यसअघि नै लिखित तथा मौखिक रूपमा नेतृत्व परिवर्तनको निर्देशन दिएका थिए। तर निर्देशन पालना नभएपछि उनले आफैं डडेल्धुरा पुगेर बैठकको अध्यक्षता गर्दै निर्णय कार्यान्वयन गराएका हुन्।
यस परिवर्तनलाई माओवादी केन्द्रभित्रको शक्ति सन्तुलन पुनर्संरचनासँग जोडेर हेरिएको छ।