काठमाडौं, जेठ १ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरिद प्रकरणमा ३ अर्बभन्दा बढीको बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको सांसद पद स्वत: निलम्बनमा परेको छ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित बस्नेतले तत्कालीन सञ्चारमन्त्रीका रूपमा कार्यकाल पुर्याएका थिए। आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको ठहर गर्दै बस्नेतसहित पूर्वकानुन सचिव धनराज ज्ञवाली र दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ अनुसार सार्वजनिक पदधारी व्यक्तिविरुद्ध मुद्दा दायर भएपछि सम्बन्धित व्यक्ति स्वत: निलम्बनमा पर्ने प्रावधान रहेको छ।
आयोगले आरोपपत्रमा उल्लेख गरेअनुसार तत्कालीन मन्त्री बस्नेतले दूरसञ्चार प्राधिकरणमा विचाराधीन रही निर्णय नभइसकेको अवस्थामा एकलौटी ढंगमा थप कार्यक्रम समावेश गरी पदीय अधिकारको दुरुपयोग गरेका थिए। प्रस्तावित कार्यक्रम प्राधिकरणले अघि नबढाएको, लागत अनुमान र खरिद गुरुयोजना तयारी नगरी खरिद प्रक्रिया अघि बढाइएको, र संस्थालाई आर्थिक हानि पुर्याउने काममा संलग्न भएको आरोप छ।
आयोगले सबै आरोपीहरूविरुद्ध जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँको बिगो र कैद सजाय मागदाबी गरेको छ।