तनहुँ— तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध कुटपिट तथा ज्यान मार्ने उद्योगको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ। श्रेष्ठले ५७ वर्षीय प्रभात आलेलाई घरमा बोलाएर कुटपिट गरेको आरोप लागेको छ। घटनाको कारण भने झण्डै ७/८ वर्षदेखि चलिरहेको जग्गा विवाद हो। भीमादको मालेबजारमा रहेको उक्त जग्गा श्रेष्ठले आले परिवारबाट खरिद गरेका थिए। विवादकै सन्दर्भमा बोलाइ सहमति गर्ने भनिएको बैठकमा श्रेष्ठले आफूलाई एक्कासी कुटपिट गरेर ज्यान मार्न खोजेको पीडित आलेले प्रहरीसमक्ष उजुरीमा उल्लेख गरेका छन्।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख इन्सपेक्टर पोषण थापाका अनुसार प्रारम्भिक रूपमा कुटपिटका लागि क्षतिपूर्तिको मागसहित उजुरी दिइएको भए पनि पछि ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी हुलाकमार्फत प्राप्त भई दर्ता गरिएको हो। इन्सपेक्टर थापाका अनुसार, “घाउको परीक्षण र घटनाको प्रकृतिबारे अनुसन्धान भइरहेको छ। मुद्दा कसरी अगाडि बढाउने भन्ने विषयमा सरकारी वकिलको कार्यालयसँग छलफल भएको छ।”
थापाले आरोपी अध्यक्ष श्रेष्ठ र पीडित प्रभात आले दुबै जना हाल सम्पर्कमै रहेको जानकारी दिएका छन्। प्रभात आले, तनहुँबाट २०१५ सालमा सांसद बनेका कांग्रेस नेता पदमबहादुर आलेका छोरा तथा गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद जीतप्रकाश आलेका भाइ हुन्।