काठमाडौं— सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आगामी जेठ ९ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरिसकेको कम्पनी अब सर्वसाधारणका लागि २४ लाख १५ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको शेयर बिक्रीमा ल्याउनेछ। यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ८ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता शेयर निष्काशन गरिएको थियो। साथै, सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ५०० कित्ता र कर्मचारीका लागि ५८ हजार २०० कित्ता शेयर छुट्याइएको थियो।
सार्वजनिक निष्काशनमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओ आवेदन छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २३ गतेसम्म दिन सकिनेछ।
कम्पनीले प्राप्त गरेको रेटिङअनुसार, केयर रेटिङ्स नेपालले “CARE-NP BB+ (Is)” रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ।
सान्भि इनर्जीले प्रवर्धन गरिरहेको ७.६ मेगावाट क्षमताको जोगमाई खोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ५७ करोड २९ लाख रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.५३ वर्ष र छुट मूल्यमा लगानी फिर्ता हुने अवधि ८.२९ वर्ष रहेको छ।
त्यसैगरी, निर्माणाधीन ५.२ मेगावाटको जोगमाई क्यासकेड जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब ९१ लाख रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष र छुट मूल्यमा लगानी फिर्ता हुने अवधि ११.१० वर्ष रहनेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ। इच्छुक लगानीकर्ताहरूले सि-आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू र ‘मेरो शेयर’ अनलाइन सफ्टवेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।