काठमाडौँ — अछामस्थित पञ्चदेवल विनायक नगरपालिका सुदूरपश्चिम प्रदेशमै सबैभन्दा कम बेरुजु गर्ने पालिका बन्न सफल भएको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदन अनुसार पञ्चदेवल विनायक नगरपालिकाको बेरुजु रकम कुल खर्चको मात्र ०.२७ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षमा यो दर ०.५२ प्रतिशत थियो, जसमा पञ्चदेवल दोस्रो स्थानमा रहेको थियो।
चालु वर्षमा भने पञ्चदेवल विनायकले सबै स्थानीय तहलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो। नगरपालिकाले बजेट कार्यान्वयनमा पारदर्शिता, समयानुकूल योजना कार्यान्वयन तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। हाल यस नगरपालिकाको नगरप्रमुखको भुमिकामा अम्बिका चलाउने रहनुभएको छ ।
त्यसकै फलस्वरूप पालिकाको खर्च कार्यसम्पादन प्रभावकारी बनेको स्थानीय सरोकारवालाहरू बताउँछन्।
स्थानीय तहमा प्रभावकारी बजेट व्यवस्थापन र पारदर्शी कार्य प्रणालीको लागि पञ्चदेवल विनायकको यो अभ्यास अनुकरणीय हुनसक्ने विश्लेषणकर्ताहरूको धारणा छ।