काठमाडौं, वैशाख ३१- “शिक्षामा कला, कलामा शिक्षा” भन्ने नाराका साथ काठमाडौंको पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीमा ‘विद्यालयमा कुलपति मार्फत विश्व पर्यटन उपत्यकाव्यापी चित्रकला प्रतियोगिता तथा प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको छ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली ‘कलाङ्’ प्रमुख वक्ताका रूपमा सहभागी रहेको कार्यक्रममा उनले शिक्षामा कलाको समावेशिता, पर्यटन चेतना र सिर्जनात्मक अभिव्यक्तिबीचको सम्बन्धबारे विचार राखे।
कार्यक्रममा प्याब्सन केन्द्रिय महासचिव आरबी कटवालले समेत आफ्नो धारणा राख्दै कला र शिक्षा बीचको अन्तरसम्बन्धलाई अझ मजबुत बनाउनु पर्नेमा जोड दिए। उनले यस्ता कार्यक्रमहरूले विद्यार्थीको सिर्जनात्मक प्रतिभा उजागर गर्नुका साथै पर्यटन र संस्कृतिको प्रवर्द्धनमा पनि महत्त्वपूर्ण योगदान गर्ने बताए। कटवाल नेक्सस इन्टरनेशनल एकेडेमीका संस्थापक प्रिन्सिपल समेत हुन्।
मानवता अभियानको आयोजनामा भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोग रहेको थियो भने PABSON केन्द्रिय समिति, NPABSAN काठमाडौं र नेपाल निजी विद्यार्थी संघ लगायतका संस्थाहरू सह–आयोजक थिए।
कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न विद्यालयहरूबाट सहभागी विद्यार्थीहरू उपस्थित थिए। उनीहरूले विश्व पर्यटन र नेपाली सांस्कृतिक सम्पदाका विविध आयामलाई चित्रमार्फत अभिव्यक्त गर्नेछन। प्रदर्शनीले नेपाली कला, संस्कृति र पर्यटनबारे विद्यार्थीहरूमा चेतना बढाउनुका साथै भविष्यका कलाकारहरूलाई प्रेरणा दिने उद्देश्य राखिएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।