काठमाडौं, बैशाख ३१- नेकपा एमालेले वैदेशिक रोजगारीका क्रममा साउदी अरबको जुबेल सहरमा अलपत्र परेका ४६९ जना नेपाली कामदारको शीघ्र उद्दारका लागि सरकारसँग आग्रह गरेको छ। बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै एमालेका सांसद तथा प्रमुख सचेतक महेश कुमार बर्तौलाले कम्पनी बन्द भएपछि कामविहीन बनेका नेपालीको स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तात्कालिक पहल गर्न आग्रह गरे।
बर्तौलाका अनुसार साउदीको सेन्डन इन्टरनेशनल कम्पनी लिमिटेड बन्द हुँदा ती नेपाली कामदारहरू अलपत्र परेका हुन्। तीमध्ये २२६ जना नेपाल फर्किन चाहन्छन् भने २४३ जनाले अन्य कम्पनीमा रोजगारीका लागि व्यवस्था मिलाइदिन दूतावासमार्फत आग्रह गरेका छन्।
“कामविहीन भए पनि ती नेपाली अहिले शिविरमा बसिरहेका छन्, खानाको समस्या छ, बिरामी छन्, तर उपचार पाएका छैनन्। भिसा बन्द भएको कारणले नेपाल फर्किन पनि सकेका छैनन्,” सांसद बर्तौलाले भने, “सरकारले यथाशीघ्र ती नेपालीहरूको उद्दार गरी आवश्यक सहयोग र सहजीकरण गर्नुपर्छ।”
बर्तौलाले पीडित कामदारहरूले ९ महिनासम्मको तलब नपाएको, बारम्बार कम्पनीको व्यवस्थापन र सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि बेवास्ता गरिएको गुनासो समेत राखे।
उनीहरूले साउदीस्थित नेपाली दूतावासमा उद्दारका लागि निवेदन दिइसकेका छन्। अधिकांश पीडितहरू दुई वर्षभन्दा बढी समयदेखि कम्पनीमा कार्यरत थिए। अब उनीहरूको सुरक्षित फर्काइ र बाँकी तलब वापतको दाबी सुनिश्चित गर्न सरकारको सक्रिय कूटनीतिक पहल अपरिहार्य बनेको बर्तौलाको भनाइ छ।