कर्मचारीहरूको मनोबल खस्किएको भन्दै स्थानीय सेवा ऐन तुरुन्त ल्याउन सांसद साउँदको माग

काठमाडाैँ – सुदूरपश्चिम प्रदेश अन्तर्गतका स्थानीय तहका राष्ट्र सेवक कर्मचारीहरूले स्थानीय सेवा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गरिरहेकाले हाल स्थानीय तहबाट प्रवाह हुने सेवा ठप्प भएको र यसले नागरिकले पाउने सेवा–सुविधामा गम्भीर असर परेको भन्दै प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता एनपी साउँदले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

कञ्चनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद साउँदले आर्थिक वर्षको अन्तिम चौमासिकको संवेदनशील समयमा सेवा प्रवाहमा आएको अवरोधले स्थानीय तहका योजना तथा कार्यक्रमहरूको कार्यान्वयन प्रभावित भएको बताएका छन्। लामो समयसम्म स्थानीय सेवा ऐन जारी नभएकै कारण कर्मचारीको बृत्ति विकासमा अवरोध पुग्नुका साथै मनोबल खस्किएको र त्यसले कार्यक्षमता तथा सेवा प्रवाहमा नकारात्मक असर परेको साउँदको तर्क छ।

“स्थानीय तहका कर्मचारीहरू बृत्ति विकासको सुनिश्चितता नहुँदा निराश छन्। यसले उनीहरूको कार्यक्षेत्रमा लगाव घटाएको छ,” सांसद साउँदले भने, “स्थानीय सेवा ऐन चाँडोभन्दा चाँडो जारी गरेर कर्मचारीमा मनोबल वृद्धि गर्नुपर्छ, ताकि उनीहरू जनताको सेवामा समर्पित भएर लाग्न सकून्।”

सुदूरपश्चिम प्रदेश सरकारले यथाशीघ्र स्थानीय सेवा ऐन ल्याई सेवा अवरुद्ध भएका स्थानीय तहलाई पुनः सञ्चालनमा ल्याउनु आवश्यक रहेको साउँदले जोड दिए। उनले कर्मचारीको न्यायोचित मागको सम्बोधनसहित जनताको आधारभूत सेवा नरोकिने वातावरण बनाउन सरकारसँग आग्रह गरे।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्