रोहित शर्माको टेस्ट संन्यास : सम्मानजनक विदाइ र अन्तिम निर्णयको कथा

काठमाडौं – भारतीय क्रिकेट कप्तान रोहित शर्मा अन्ततः टेस्ट क्रिकेटबाट विदा भएका छन्। पछिल्लो पटक उनी अष्ट्रेलिया भ्रमणमा भारतका लागि टेस्ट खेलमा देखिएका थिए। तर सिड्नीमा भएको पाँचौं टेस्टबाट आफूलाई प्लेइङ–११ बाट हटाउँदै उनले इतिहासमै दुर्लभ निर्णय लिए।

टेस्ट क्रिकेटमा कुनै कप्तानले स्वयंलाई टिमबाट बाहिर राख्ने निर्णय निकै कम देखिन्छ। यसअघि यस्तो निर्णय टेस्ट इतिहासमा केवल एकचोटि मात्र भएको थियो। रोहितको निर्णयले केहीले प्रशंसा गरे भने केहीले आलोचना पनि। तर, कोही पनि यो अस्वीकार गर्न सक्दैन कि यस्तो कदम त्यही व्यक्ति उठाउन सक्छ जसमा आत्मसम्मान, निस्वार्थता र निर्णय क्षमता बलियो होस्।

यो निर्णयपछि रोहितको टेस्ट करियरको भविष्यबारे अड्कलहरू चल्न थाले। आगामी जुनमा इंग्ल्याण्ड भ्रमणबाट सुरु हुने वर्ल्ड टेस्ट च्याम्पियनसिपको नयाँ चक्रमा रोहितले स्थान नपाउने अनुमान व्यापक थियो।

रोहितले कप्तानको रूपमा चयनकर्ताहरूलाई स्पष्ट भनेका थिए—यदि उनलाई टेस्ट टिमबाट हटाउने विचार छ भने समयमै जानकारी दिइयोस् ताकि उनी भविष्यका लागि तयारी गर्न सकून्।

अष्ट्रेलिया भ्रमणपछि रोहितको कप्तानीमा भारतले आइसीसी च्याम्पियन्स ट्रफी जित्यो, जसले उनको कप्तानीलाई फेरि चर्चा दिलायो। तर टेस्ट टिममा फर्कन सक्ने सम्भावना कम हुँदै गयो।

अप्रिल महिनाको मध्यतिर माइकल क्लार्कसँगको एक पोडकास्टमा उनले रिटायर हुनेबारे सोच नराखेको बताए पनि गत हप्ता बुधवारको इन्स्टाग्राम पोस्टले स्पष्ट गर्‍यो—उनी इंग्ल्याण्ड भ्रमणको टिममा छैनन्।

यो कुरा पक्कै हो कि यस्तो निर्णयबाट रोहित दुःखी भएका होलान्, तर निर्णय पहिले नै भइसकेको थियो।

संख्यात्मक दृष्टिले मिश्रित प्रदर्शन
रोहित शर्मा भारतका सर्वश्रेष्ठ टेस्ट ब्याट्सम्यानहरूको सूचीमा संख्यात्मक रूपमा सधैं अगाडि छैनन्। ११६  इनिङमा ४३०१  रन बनाउँदै उनले अजिंक्य रहाणे, एमएस धोनी र मोहिन्दर अमरनाथजस्ता खेलाडीभन्दा कम रन बनाएका छन्।

उनको टेस्ट करियर सुरुवातदेखि नै संघर्षपूर्ण रह्यो। चोट र अस्थिरताले उनको अवसरहरूमा असर पारे। तर २०१९ मा ओपनरको रूपमा खेलेपछि उनको टेस्ट करियरले नयाँ मोड लियो।

त्यसपछिका ३८ टेस्टमा उनले कुल रनको ६० प्रतिशत (२६९७ रन) योगदान दिए। ओपनर बनेपछि १२ टेस्ट शतकमध्ये ९ शतक यसै अवधिमा आए।

ईएसपीएनक्रिकइन्फोका तथ्यांक अनुसार, रोहितले बनाएका १२ वटै टेस्ट शतक भारतका जितमा परिणत भए—जसले उनलाई अद्वितीय बनाउँछ।

अन्तिम चरणमा निराशाजनक प्रदर्शन
टेस्ट कप्तानको रूपमा रोहितको अन्तिम सिजन खासै सफल रहेन। भारत पहिलोपटक न्यूजिल्याण्डसँग घरेलु मैदानमा ०–३ ले हार्‍यो। त्यसपछि अष्ट्रेलियाविरुद्धको बॉर्डर–गावस्कर ट्रफी पनि गुमायो।

आईपीएलमा फर्म फर्केपनि, टेस्टमा इंग्ल्याण्डजस्तो कठिन टिमविरुद्ध चुनौती सामना गर्न सक्ने स्तरमा उनी देखिएनन्।

यसैले चयनकर्ताहरूले भविष्यतर्फ देखाउँदै उनलाई टिममा नराख्ने निर्णय गरे। अब विराट कोहलीलाई पुनः इंग्ल्याण्ड भ्रमणका लागि मनाउने प्रयास भइरहेको छ, किनभने अनुभव बिना यस्तो भ्रमण जोखिमपूर्ण हुन सक्छ।

रोहित शर्मा एकदिवसीय र टी–२० मा चम्किए, तर टेस्टमा संघर्ष गरे। यद्यपि ओपनरको रूपमा उनले जसरी पुनरागमन गरे, त्यो प्रेरणादायी छ। उनका शतकहरू केवल व्यक्तिगत उपलब्धि नभइ, टिमको जितसँग जोडिएर आएका छन्।

टेस्ट क्रिकेटबाट उनको विदाइ भावुक रह्यो, तर उनले सम्मानजनक रूपमा निर्णय स्वीकार गरे। अब रोहितको ध्यान सीमित ओभरको क्रिकेट र आगामी विश्वकपतर्फ रहनेछ। बिबिसी हिन्दीको सहयोगमा 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्