मिसन ०८४ सफल बनाउन जनसंगठनलाई सक्रिय भूमिका खेल्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन लक्ष्यित मिसन ०८४ मा बहुमत हासिल गर्न जनसंगठनहरूले निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

बालुवाटारमा आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समयानुकूल रूपमा संगठनहरूलाई सुदृढ र प्रभावकारी नबनाएसम्म उपलब्धि हासिल गर्न कठिन हुने बताएका हुन्।

उनले हालै फागुनदेखि वैशाखसम्म महाधिवेशन सम्पन्न गरेका १० वटै जनसंगठनका इन्चार्ज र निवर्तमान अध्यक्षहरूलाई बधाई दिँदै संगठनभित्र गुटबन्दी, अनुशासनहीनता र बेठिक प्रवृत्तिबाट टाढा रहन निर्देशन दिए।

प्रधानमन्त्री ओलीले एमालेले अहिले पनि प्रतिकूल परिस्थितिमा सरकार सञ्चालन गरिरहेको स्मरण गराउँदै, चारैतिरबाट भइरहेको पार्टी र सरकारविरुद्धको आक्रमणको प्रतिवाद गर्न जनसंगठनहरू अझ सशक्त र संगठित हुनुपर्ने धारणा राखे।

‘५५ वर्षअघि विभिन्न विचार समूहलाई एकताबद्ध गरी एमालेको जग बसाइएको थियो’, उनले भने, ‘आज जहाँ नेपाली, त्यहीँ एमाले भन्ने स्थिति बनेको छ। हाम्रो लोकतन्त्रप्रतिको निष्ठामा कसैले प्रश्न उठाउन सक्दैन।’ प्रधानमन्त्री ओलीले जनसंगठनहरूलाई कार्यकर्ता उत्पादन गर्ने कारखाना सरहको संज्ञा दिँदै ती संगठनहरू प्रयोजनसहितका हुनुपर्नेमा जोड दिए।

‘तपाईंहरू विचारमा प्रतिबद्ध र अनुशासनमा कठोर बन्नुहोस्’, उनले भने, ‘तर कार्यकर्तालाई हप्काउने, थर्काउने र रुखो व्यवहार नगर्नुहोस्। नयाँ मानिस संगठनमा आकर्षित हुने वातावरण बनाउन व्यवहारमै परिवर्तन ल्याउनुहोस्।’ सामाजिक सञ्जालमा फैलाइएका भ्रमको जवाफ दिनसमेत ओलीले जनसंगठनहरूलाई आह्वान गरे। ‘ताल र सुर विना पिपिरीका बाजा बजाउनेहरूलाई जवाफ दिनुहोस्’, उनले भने, ‘जनसंगठनको पंक्ति एक पटक सक्रिय भयो भने विरोधीहरू आफैं हराउँछन्।’

कार्यक्रमको सञ्चालन पार्टी जनसंगठन समन्वय विभागका प्रमुख भानुभक्त ढकालले गरेका थिए। कार्यक्रममा सबै १० वटै जनसंगठनका प्रमुख तथा पूर्वअध्यक्षहरूको उपस्थिति थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्