विराटनगर – गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित सुरक्षा निकायलाई तत्काल कडा कारबाहीको निर्देशन दिएका छन्। बुधबार विराटनगरमा सुरु कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा बोल्दै उनले तस्करी नियन्त्रणमा ३० दिनभित्र जनताले अनुभूत गर्ने गरी एक्सन लिन निर्देशन दिएका हुन्।
गोष्ठीको उद्घाटन सत्रमा गृहमन्त्री लेखकले तस्करीका कारण देशमा अपराध दर बढ्नुका साथै राजस्व संकलनमा गिरावट आएको र समग्रमा मुलुकको आर्थिक तथा सामाजिक अवस्थामाथि नकारात्मक असर परिरहेको उल्लेख गरे। उनले स्पष्ट शब्दमा भने, “तस्करी तुरुन्त रोक्नुपर्छ, होइन भने गृह मन्त्रालयले अर्को कडा एक्सन लिन्छ।”
गृहमन्त्री लेखकले शान्ति सुरक्षाको सवालमा राज्य कुनै पनि हालतमा सम्झौता नगर्ने पनि प्रष्ट पारे। उनले भने, “कानुन कार्यान्वयन गर्नु हाम्रो जिम्मेवारी हो। शान्ति सुरक्षा हुँदा मात्रै देशको विकास र आर्थिक सबलीकरण सम्भव हुन्छ।”
गृहमन्त्रीले पछिल्लो समय देखा परेका सुरक्षाजन्य चुनौतीहरूमध्ये लागुऔषधको प्रयोग, सवारी दुर्घटना र आत्महत्यालाई गम्भीर चुनौतीका रूपमा उल्लेख गरे।
“प्रत्येक दिन सात जनाको ज्यान सवारी दुर्घटनामा जानु र १७ जनाले आत्महत्या गर्नु कुनै सामान्य कुरा होइन,” उनले भने।
गृहमन्त्री लेखकले संविधान र गणतन्त्रप्रति प्रहार सह्य नहुने चेतावनी दिंदै अब वंश, हैसियत वा नाताको भरमा सार्वजनिक पदमा पुग्न नसकिने स्पष्ट पारे।
“प्रमुख जिल्ला अधिकारीको छोरा प्रमुख जिल्ला अधिकारी हुने भए त्यो के गणतन्त्र भयो त? जनमत वा क्षमता, यी दुई आधारबिना सार्वजनिक पदमा पुग्न सकिन्न,” उनले जोड दिए।
गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
मुख्यमन्त्री कार्कीले पछिल्लो समय सुरक्षाका चुनौतीहरू जटिल बन्दै गइरहेको उल्लेख गर्दै पहिचानको नाममा भइरहेका अभियानले पनि नयाँ सुरक्षा खतरा निम्त्याइरहेको बताए। साथै, उनले पाथीभरा केवलकार परियोजनाको उदाहरण दिँदै विकाससँगै सम्भावित सुरक्षा जोखिमप्रति राज्य सतर्क रहनुपर्ने बताए। आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले साइबर अपराध, लागुऔषध ओसारपसार र अवैध गतिविधिहरूलाई हालको समयका प्रमुख सुरक्षा चुनौतीका रूपमा चित्रण गरे। “व्यवस्थामाथि प्रहार भइरहेको अवस्थामा हामी कमजोर हुन सक्दैनौं,” उनले भने।
गोष्ठीमा गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूको सक्रिय सहभागिता रहेको थियो।