विवाहमा नाचगान भइरहँदा करेन्ट लागेर दुई महिलाको मृत्यु

सांकेतिक तस्बिर

विराटनगर, वैशाख ३१ । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । घटना वैशाख ३० गते राति करिब ८ बजे भएको हो ।

स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाह समारोहमा नाचगान भइरहेकै बेला ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंलाई करेन्ट लागेको थियो । गम्भीर घाइते दुबैलाई तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको भए पनि अस्पताल पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) बेदप्रकाश जोशीका अनुसार माइक जडान गर्नका लागि विवाहघरमा नजिकै हाइटेन्सन लाइन छेउमा हरियो बाँस गाडिएको थियो । तर, राति आएको हावाहुरीले बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्किँदा उक्त दुर्घटना भएको हो ।

उक्त घटनामा ३० वर्षीया राधाकुमारी सिंह पनि सामान्य घाइते भएकी छन् । उनलाई नगर अस्पताल झुर्कियामा उपचारपछि घर फर्काइएको प्रहरी स्रोतले जनाएको छ ।

स्थानियहरूका अनुसार विद्युत सुरक्षामा लापरवाही हुँदा दुर्घटना भएको हो । घटनापछि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्