अमेरिका–साउदी अरबबीच १४२ अर्ब डलरको रक्षा सम्झौता, ६०० अर्ब डलर लगानीको प्रतिबद्धता

रियाद — अमेरिका र साउदी अरबबीच हालसम्मकै सबैभन्दा ठूलो रक्षा सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणका क्रममा दुई देशबीच करिब १४२ अर्ब अमेरिकी डलरको रक्षा बिक्री सम्झौता भएको हो।

अमेरिकी प्रशासनले उक्त सम्झौतालाई “इतिहासमै सबैभन्दा ठूलो रक्षा सम्झौता” भनेको छ। सम्झौता अन्तर्गत अमेरिकी रक्षा कम्पनीहरूले साउदी अरबलाई अत्याधुनिक हतियार, सुरक्षा प्रणाली तथा सैन्य सेवाहरू उपलब्ध गराउनेछन्।

बीबीसीका अनुसार साउदी अरबले अमेरिका भित्र ६०० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता समेत जनाएको छ। उक्त लगानी विभिन्न क्षेत्रहरूमा केन्द्रित हुने ह्वाइट हाउसले जनाएको छ।

साउदी भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले मंगलबार क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटमा दुवै मुलुकबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ।

राष्ट्रपति ट्रम्प साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) को चार दिने मध्यपूर्व भ्रमणमा छन्। यस भ्रमणलाई अमेरिका र खाडी मुलुकहरूबीचको सुरक्षा, व्यापार तथा कूटनीतिक सम्बन्ध सुदृढ बनाउने अवसरको रूपमा हेरिएको छ।

यस ऐतिहासिक सम्झौतालाई क्षेत्रीय सुरक्षा तथा अमेरिकी उद्योगका लागि महत्वपूर्ण मानिएको छ। साथै, यसले साउदी अरेबको सैन्य क्षमतामा ठूलो वृद्धि गर्ने अनुमान गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्