आजको मौसम : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ — हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले देशका विभिन्न भूभागमा मौसममा बदली देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारणतया बदली रहँदा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

पछिल्लो २४ घन्टामा देशका अधिकांश स्थानहरूमा वर्षा भएको महाशाखाको तथ्याङ्कले देखाएको छ। सबैभन्दा बढी वर्षा मकवानपुरको भोर्लेनी केन्द्रमा ५६.२ मिलिमिटर मापन गरिएको छ। यस्तै, इलामको सोक्तिम चिया बगानमा ४५.२, ताप्लेजुङको दोभानमा ३८, सुनसरीको चतरामा ३६, मोरङको हरैचामा २४.८, स्याङ्जाको स्याङ्जामा ४४.६, आँधिखोलामा २२.६, पञ्चमूलमा २५.२ र पर्वतको कार्किनेटामा २५.२ मिलिमिटर वर्षा भएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा तथा अन्य पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

बुधबार राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। यस्तै, रातिको समयमा पनि ती क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने तथा उच्च-पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। महाशाखाले मौसम परिवर्तनशील भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्