काठमाडौं – आउँदो शुक्रवारदेखि काठमाडौंमा सुरु हुन लागेको ‘सगरमाथा संवाद’ मा एक सय ७५ जना विदेशी प्रतिनिधिसहित जम्मा तीन सय ५० जना सहभागी हुने भएका छन्। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संवादको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै, यसपटकको संवाद विशेषगरी जलवायु परिवर्तन र पर्वतीय क्षेत्रका विषयमा केन्द्रित हुने बताउनुभयो।
तीन दिनसम्म चल्ने संवादको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। विदेशी प्रतिनिधिमण्डलका उच्चस्तरीय सदस्यहरूले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नुका साथै समकक्षी मन्त्रीहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ।
परराष्ट्रमन्त्री डा. राणाका अनुसार, संवादलाई प्रभावकारी बनाउन सरकारको तर्फबाट १० वटा पूर्वसंवाद कार्यक्रमहरू आयोजना भइसकेका छन्। यस संवादमा चीन, भारत, तथा कोप–२९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिका जलवायुसम्बन्धी प्रतिनिधिको समेत सम्बोधन हुने छ।
‘जलवायु परिवर्तन : हिमाल र मानवताको भविष्य’ भन्ने नारासहित सञ्चालन हुने सगरमाथा संवादमा एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा हुने हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तागत समानता लगायतका १२ वटा मुख्य विषयमा गहिरो छलफल गरिनेछ।
कार्यक्रमको उद्देश्य जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्धन गर्नु रहेको जनाइएको छ। सगरमाथा संवाद सचिवालयका सदस्य सचिव तथा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालका अनुसार जलवायु परिवर्तनको विषय प्राविधिक मात्र नभई राजनीतिक पनि भएकाले छलफल त्यसअनुरूप बहुआयामिक हुने छ।