काठमाडौँ – लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएकी समाजसेवी तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेकी कार्यवाहक अध्यक्ष सबिना श्रेष्ठले नेपालमा सञ्चालित मानव सेवा आश्रम, विराटनगरका लागि ५० हजार रुपैयाँ सहयोग गरेकी छन्।
उक्त सहयोग रकम नेपालमा रहेकी उनकी आमा बिना श्रेष्ठले विराटनगरस्थित मानव सेवा आश्रमकै परिसरमा आश्रमका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिन्। भक्तपुर स्थायी घर भई नेपाली कला, साहित्य तथा समाजसेवामा सक्रिय सबिना श्रेष्ठ हाल नेपाल प्रेस युनियन युरोपकी उपाध्यक्ष समेत हुन्। बेलायतको नेपाली डायस्पोरामा उनको सक्रियता उल्लेखनीय छ।
मानव सेवा आश्रमले नेपालभरि दुःख, आपत् र असहाय अवस्थामा परेकाहरूको सेवा गर्दै आएको छ। पछिल्लो समय यस संस्थाले विदेशमा समेत शाखा विस्तार गर्दै गइरहेको छ। श्रेष्ठले यसअघि पनि भूकम्प पीडित, सांस्कृतिक संरचना निर्माण तथा आपत् परिस्थितिमा परेका अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरूलाई समेत विभिन्न माध्यमबाट सहयोग गर्दै आएकी छन्। मानव सेवा आश्रमका लागि प्रदान गरिएको यो सहयोग राशि उनले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेमार्फत नेपाल पठाएकी हुन्।
श्रेष्ठको यस्तो निरन्तर सहयोगले विदेशमा रहेका नेपाली समुदायले मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व कति बलियो छ भन्ने स्पष्ट देखिएको छ।