कमल थापाको चेतावनी : “१५ जेठबाटको आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने प्रयास नगर्नुहोस्”

काठमाडौं — राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट सुरु हुने आन्दोलन पूर्णतः शान्तिपूर्ण हुने स्पष्ट पार्दै, आन्दोलन बदनाम गर्न वा भड्काउने प्रयास नगर्न कडा चेतावनी दिएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले संविधानले प्रत्याभूत गरेको अधिकार प्रयोग गर्दै आन्दोलन गरिने उल्लेख गर्दै भने, “हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको छ। हामी ब्रह्मलुट र मनपरितन्त्रको अन्त्य चाहन्छौं। भ्रष्टाचार, कुशासन, बेरोजगारी र योजनाबद्ध धर्मपरिवर्तनविरुद्ध हाम्रो संघर्ष हो।”

उनले सरकारलाई आग्रह गर्दै भने, “संविधानले दिएको अधिकार प्रयोग गरेर फरक विचार र वैकल्पिक मार्गचित्र प्रस्तुत गर्नु अपराध होइन। आन्दोलनलाई हिंसात्मकको नाम दिएर दबाउने प्रयास नगर्नू। त्यसो भए स्वभाविक रूपमा असजिलो परिस्थिति उत्पन्न हुन सक्छ।”

थापाले राष्ट्र, प्रजातन्त्र र जनताको भावनालाई सशक्त बनाउने उद्देश्यले आन्दोलन अघि बढाउने बताए। साथै, पछिल्ला दिनहरूमा केही भ्रम सिर्जना गरेर आन्दोलनलाई कमजोर पार्ने प्रयास भएको भन्दै त्यो प्रयासलाई चिर्दै अघि बढ्ने उनको भनाइ थियो। हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको अभियान नयाँ ढंगबाट अघि बढ्ने उल्लेख गर्दै उनले पार्टी कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न र जनसहभागिता विस्तार गर्न निर्देशनसमेत दिएका छन्। सो अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पार्टीमा स्वागत गरिएको थियो।

राजावादी धारका पार्टी तथा संघसंस्थाहरूले संयुक्तरूपमा १५ जेठबाट देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरिसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्