रवीन्द्र मिश्रसहित पक्राउ परेकाहरूको पुनः म्याद थपको माग, आठौंपटक अदालतमा पेस

काठमाडौं —राजावादी प्रदर्शन हिंसात्मक बनेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका आरोपितलाई प्रहरीले पुनः म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ। गत १५ चैतमा तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शनमा हिंसा भड्किएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्रसहितका अभियुक्तहरूलाई प्रहरीले आठौंपटक म्याद थपको निवेदन दिंदै मंगलबार अदालतमा उपस्थित गराएको हो।

मिश्रमाथि राज्यद्रोह, संगठित अपराध र आपराधिक उपद्रव लगायतका गम्भीर अभियोगमा अनुसन्धान भइरहेको छ। उक्त प्रदर्शनमा मुख्य भूमिका निर्वाह गरेको भनिएका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा भने स्वास्थ्य कारण देखाएर थुनाबाहिरै राखेर अनुसन्धान गरिएको छ। यस्तै, आन्दोलनका “कमाण्डर” का रूपमा चिनिएका दुर्गा प्रसाईं थुनामै छन्। प्रसाईंसहित केही व्यक्तिमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको अभियोग पनि लगाइएको छ।

प्रहरीले मिश्रमाथि पहिलोपटक १६ चैतमा पाँच दिनका लागि थुनामा राख्ने अनुमति लिएको थियो। त्यसयता २० चैत, २७ चैत, १० वैशाख, १४ वैशाख र २१ वैशाखमा क्रमशः म्याद थप्दै आज आठौंपटक म्याद थपका लागि पेश गरेको हो। तीनकुने घटनामा अराजक प्रदर्शन, तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा हालसम्म ९० जनाविरुद्ध मुद्दा दायर गरिएकोमा २४ जनालाई थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसबीच, मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदनसमेत दायर भइसकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्