काठमाडौं— कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध पूरक अभियोजनमार्फत ३७ लाखभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले २० जना पीडितको जाहेरीका आधारमा सांसद राईसहितका प्रतिवादीविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो माग गर्दै मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। सहकारीकी सहसचिवसमेत रहेकी राईको कार्यकालमा बचतकर्ताको रकम अपचलन भएको अनुसन्धानमा खुलेको छ।
यसअघि, २१ पुसमा सोही सहकारी प्रकरणमा ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिनासम्बन्धी अभियोगमा ३९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा अगाडि बढाइएको हो।
सांसद राईलाई यसअघि उन्मुक्ति दिइएको भन्दै सार्वजनिक रूपमा आलोचना भइरहेका बेला १३ वैशाखमा प्रहरीले कपनबाट उनलाई पक्राउ गरेको थियो। उनीमाथि सहकारी ठगीसँगै संगठित अपराधसमेतको अभियोग लगाइएको छ।
संगठित अपराधको मुद्दामा ६० दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न कानुनी प्रावधान भए पनि राईको हकमा भने १७ दिनमै अदालतमा मुद्दा दायर गरिएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसमेत सो प्रकरणमा प्रतिवादीका रूपमा मुद्दा भोगिसकेका छन्।