काठमाडाैँ- अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आइसकेको छ।
सोमबार राति रोशी खोलामा आएको बाढीले माम्तीस्थित डाइभर्सन बगाएको थियो। बाढीले डाइभर्सन बगाएपछि उक्त क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको थियो। प्रहरी निरीक्षक गिरीका अनुसार बगाएको डाइभर्सनको ठाउँमा फिलिङ गरिएको र खोलाको धार समेत डाइभर्ट गरिएको छ।
‘बिहानै ८ बजेदेखि सडक विभागको ४ वटा जेसीबी र ५ वटा टिपर प्रयोग गरेर बगाएका कल्भर्टहरूमा माटो भरिएको हो,’ उनले बताए, ‘हाल सडक पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ।’
पूर्वबाट काठमाडौंतर्फ गइरहेका सवारीसाधनलाई खुर्कोट र नेपालथोकमा रोकिएको थियो भने काठमाडौंबाट पूर्व जाँदै गरेका सवारीलाई भकुण्डेबेसीमा रोकिनु परेको थियो।
अहिले ती स्थानमा रोकिएका सवारीहरूलाई विस्तारै गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।