भारत–पाकिस्तान तनावपछि स्थगित आईपीएल फेरि सुरु हुँदै, जेठ ३ गतेदेखि खेलहरु पुनः सञ्चालनमा

 

काठमाडौं – भारत–पाकिस्तानबीचको बढ्दो तनावका कारण केही समयका लागि स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अब पुनः सुरु हुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले सार्वजनिक गरेको परिमार्जित तालिका अनुसार बाँकी खेलहरु जेठ ३ गते (१७ मे) देखि सुरु भई फाइनल जेठ २० गते (३ जुन) सम्पन्न हुनेछन् ।

गत बिहीबार धर्मशालामा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीचको खेल भइरहेका बेला पाकिस्तानतर्फबाट भारतीय भूमिमा आक्रमण भएको आशंकाका कारण खेल बीचमै स्थगित गरिएको थियो । त्यसपछि सुरक्षालाई मध्यनजर गर्दै सम्पूर्ण लिग केही समयका लागि रोकिएको थियो ।

बीसीसीआईले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आईपीएल पुनः सुरु गर्न पाएकोमा खुसी व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ, “सरकार, सुरक्षा निकायहरू र सरोकारवालासँगको विस्तृत छलफलपछि आईपीएलका बाँकी खेलहरु अघि बढाउने निर्णय गरिएको हो ।”

परिमार्जित तालिका अनुसारका मुख्य बुँदाहरू:

  • पहिलो खेल: जेठ ३ गते बेंगलुरुमा रॉयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीच
  • लिग चरणको अन्तिम खेल: लखनउमा लखनउ सुपर जायन्ट्स र बेंगलुरुबीच
  • खेल हुने स्थानहरू: बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबाद
  • प्लेअफ स्थान: पछि सार्वजनिक गरिने

यसपटक जयपुरलाई पनि खेल स्थलका रूपमा समावेश गरिएको छ, जुन प्रारम्भिक अनुमानमा समावेश थिएन । साथै, बाँकी १७ खेलहरूमध्ये आइतबार हुने दिनमा दोहोरो (डबल-हेडर) खेलहरू राखिएको छ । आईपीएल आयोजक संस्थाले भनेको छ, “हामी खेलप्रेमी दर्शकलाई सुरक्षित वातावरणमा उत्कृष्ट क्रिकेट अनुभव दिन प्रतिवद्ध छौं । बाँकी खेलहरू सुरक्षित र व्यवस्थित तरिकाले सञ्चालन गरिनेछन् ।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्