काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा र काठमाडौं महानगर समितिको संयोजनमा जिल्लास्तरीय ‘हाजिरी जवाफ प्रतियोगिता’ आगामी २०८२ जेठ १६, १७ र १८ गते काठमाडौंको विनायक सिद्ध कलेज, चाबहिलमा हुने नेशनल प्याब्सन काठमाडौँका उपाध्यक्ष प्रेमकुमार भुजेलले जानकारी दिए ।
उनका अनुसार कार्यक्रम बिहान ७:३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ। प्रतियोगितामा काठमाडौं जिल्लाभित्रका नेशनल प्याब्सन अन्तर्गतका सम्पूर्ण सदस्य विद्यालयहरूलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ।
प्रतियोगितामा कक्षा ७ देखि १० सम्म अध्ययनरत ३ जना विद्यार्थी रहने टिमले मात्र भाग लिन सक्नेछन्। टिममा कम्तीमा एक जना छात्रा वा छात्र अनिवार्य रूपमा हुनुपर्नेछ। यसबाट लैंगिक समावेशिता तथा समानताप्रति प्रतिबद्धता देखिएको आयोजकको भनाइ छ। साथै, प्रत्येक टिमसँग विद्यालयको शिक्षक वा प्रशिक्षक पनि अनिवार्य रूपमा उपस्थित हुनुपर्नेछ।
विद्यालयहरूले एक विद्यालय एक टिम मात्र सहभागी गराउन पाउनेछन्। टिम दर्ताको अन्तिम म्याद जेठ १४ गते, बुधवार साँझ ५ बजेसम्म रहेको छ।
प्रतियोगितामा सामान्य/उत्तीर्ण , व्यक्तिगत , धार्मिक , र्यापिड फायर , अडियो-भिजुअल र बजर राउन्ड रहने आयोजकले जनाएको छ। फाइनल प्रतिस्पर्धामा थप राउन्डहरू पनि समावेश गरिने जानकारी आयोजकले दिएको छ। प्रतियोगिता विषयहरूमा अंग्रेजी, नेपाली, इतिहास, भूगोल, विज्ञान, गणित, कम्प्युटर विज्ञान, संस्कृति तथा कला, खेलकुद, धार्मिक विषयवस्तु, मनोरञ्जन, समसामयिक घटना, राजनीति, अर्थशास्त्र, सामान्य ज्ञान, बौद्धिक परीक्षण (IQ) आदि समेटिएको छ।
सहभागी विद्यालयहरूले टाइसीट प्रकाशित भइसकेपछि टिम परिवर्तन गर्न पाउनेछैन्। टाइसीट जेठ १५ गते विद्यालय प्रतिनिधिहरूको उपस्थितिमा तयार पारिनेछ। विद्यालयहरूले ५ जना दर्शक लिएर प्रतियोगितास्थलमा आउन सक्ने व्यवस्था मिलाइएको छ।
विवाद र अस्पष्टता भएमा क्विज मास्टरको निर्णय नै अन्तिम मानिनेछ।
प्रतियोगिताका विजेताहरूलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ:
- पहिलो पुरस्कार: नगद रु. १०,०००, ट्रफी, स्वर्णपदक र प्रमाणपत्र
- दोस्रो पुरस्कार: नगद रु. ७,०००, ट्रफी, रजतपदक र प्रमाणपत्र
- तेस्रो पुरस्कार: नगद रु. ५,०००, ट्रफी, कांस्यपदक र प्रमाणपत्र
- चौथो पुरस्कार: नगद रु. ३,०००, ट्रफी, कांस्यपदक र प्रमाणपत्र
कार्यक्रम संयोजक प्रकाश श्रेष्ठ, सचिव सुनील केसी र अध्यक्ष नवराज पाण्डेले जारी गरेको सूचनामा विद्यालयहरूलाई सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ।