दार्चुलाको टिंकर सडक निर्माणले गति लिँदै, नेपाली सेनालाई सांसद बडूले दिए शुभकामना !

काठमाडौँ– लामो समयदेखि प्रतीक्षित दार्चुलाको “तुसरपानी–कोठेधार–टिन्कर” सडक खण्ड निर्माण कार्यले नयाँ गति लिएको छ। नेपाली सेनाको निरन्तर प्रयासस्वरूप यो सडक निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको छ। यही २०८२ बैशाख २८ गतेदेखि सुन्सेराबाट हेलिकोप्टरमार्फत स्काभेटर र कम्प्रेसर मेसिन छाङरु पुर्‍याउने कार्य सुरु भएको हो।

एक साताअघि नै सेनाको निर्माण टोली छाङरु पुगिसकेको र आवश्यक निर्माण कार्य प्रारम्भ भइसकेको जानकारी प्राप्त भएको छ। दुबै छेउबाट एकसाथ सडक निर्माण थालिएकाले आगामी दुई वर्षभित्र ट्र्याक खुल्ने लक्ष्य रहेको छ।

यस सन्दर्भमा दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले नेपाली सेनालाई विशेष बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गर्दै भने, “यो शुभारम्भले दार्चुला र त्यहाँका बासिन्दामा नयाँ आशा र भरोसा जगाएको छ।”

सांसद बडूले रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सम्बन्धित माननीय मन्त्रीहरूलाई धन्यवाद दिँदै आगामी आर्थिक वर्षमा उक्त सडक खण्डका लागि छुट्टै बजेट शीर्षक सहित पर्याप्त बजेट सुनिश्चित गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

यस महत्वाकांक्षी योजना सफल भएको खण्डमा दार्चुला जिल्लाको टिन्कर क्षेत्रसँग राष्ट्रिय मुख्यसडक सञ्जालको सीधा पहुँच स्थापित भई सीमा क्षेत्रको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्