भक्तपुर– पदयात्रा, स्थानीय सम्पदा अवलोकन अनि सिर्जनाको समिश्रण रहेको ‘जेसुम यात्रा’ को पछिल्लो श्रृंखला सोमबार भक्तपुरको ऐतिहासिक शहर मध्यपुर थिमीमा सम्पन्न भएको छ। सात वर्षअघि सुरु गरिएको यस अभियानले साहित्यकार, पत्रकार, चित्रकार र रंगकर्मीहरूलाई संगठित गर्दै नेपालको मौलिक कला, संस्कृति र परम्परालाई सिर्जनात्मक माध्यमबाट उजागर गर्ने उद्देश्य बोकेको छ। यसपटकको यात्रा थिमीको शंखधर साख्वा चोकबाट सुरु भई, ऐतिहासिक बालकुमारी मन्दिर, लोकेश्वर, लायकु दरबार, निगूपुखु (दुई पोखरी), दिगु भैरव, सिद्धिकाली, चापाचो (पोटरी स्क्वायर), तिकीझ्याः (सुनको आँखी झ्याल), सिद्धिगणेश, कमल पोखरी, पाँचो गणेश लगायत सम्पदाहरूको अवलोकन गर्दै कुमारी मन्दिर पार्कमा पुगेर सम्पन्न भयो।
यात्रामा सहभागी स्रष्टाहरूलाई मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदन सुन्दर श्रेष्ठ र राष्ट्रिय विभूति शंखधर साख्वा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले स्थानीय सम्पदा, जात्रा परम्परा र सांस्कृतिक इतिहासबारे जानकारी गराउँदै पथप्रदर्शकको भूमिका निर्वाह गर्नुभयो। कुमारी मन्दिर पार्कमा पुगेपछि चित्रकारहरूले थिमीको सम्पदालाई क्यानभासमा उतार्न थाले भने साहित्यकारहरूले त्यहीँ बसेरै कविता सिर्जना गर्नुभयो।
जेसुम यात्राको परिकल्पनाकार तथा संस्थापक संयोजक कवि अनिता लामाले भन्नुभयो, “बाहिर देखिने थिमी अर्कै, भित्र देखिने थिमी अर्कै रहेछ। थिमी भित्र पसेपछि इतिहासको कुनै कालखण्डमा पसेको अनुभूति भयो।” बुढानिलकण्ठ नगरपालिकाकी उप–मेयर समेत रहेकी लामा अनुसार, व्यस्तता हुँदाहुँदै पनि समाज, राष्ट्र र संस्कृतिको चिनारीका लागि यो अभियानलाई निरन्तरता दिइएको हो।
यात्रामा प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा अभियानका संस्थापक सदस्य बालकृष्ण बस्नेत पनि सहभागी हुनुभएको थियो। उहाँले भन्नुभयो, “मौलिक संस्कृति, कला, साहित्य प्रवर्द्धन गर्दै, समाजमा फैलिएको नकारात्मकता हटाई नेपाली राष्ट्रिय संस्कृति निर्माणतर्फ यो अभियानले एउटा पाइला चालेको हो।” बस्नेतले यस अभियानको सुरुवात काभ्रेको धुलिखेलस्थित हजार सिँढीबाट भएको जानकारी गराउँदै नगरकोट, धनकुटा, बुढानिलकण्ठ, चन्द्रागिरी, अनन्तलिंगेश्वर हुँदै थिमी आइपुगेको बताउनुभयो।
साहित्यिक सत्रमा कवि स्नेह सायमी, रामगोपाल आशुतोष, अस्मिता मानन्धर, फूलमान वल, घनश्याम खड्का, दिपेन्द्र बनेपाली, रजनी मिला, ज्ञानराम श्रेष्ठ, बुद्धिकृष्ण वागा श्रेष्ठ लगायतले सांस्कृतिक प्रेरणाले भरिएका कविता प्रस्तुत गर्नुभयो । चित्रकला सत्रमा चन्द्रा श्रेष्ठ, दिपेन्द्रमान बनेपाली, सरितादेवी मण्डलले थिमीको सम्पदालाई चित्रमार्फत् जीवन्त बनाउँदै दर्शकलाई मन्त्रमुग्ध बनाउनुभयो। सरितादेवीले मिथिला कला र थिमीको जनजीवनको समिश्रण प्रस्तुत गर्नुभयो भने दिपेन्द्रमानले स्नेह सायमीको कविता “चश्मा र आँखा” को दृश्यिकरण गर्नुभयो।
यात्राको समापनमा सहभागीहरू अत्यन्त उत्साहित देखिएका थिए। कार्यक्रमपछि पूर्व नगरप्रमुख मदन सुन्दर श्रेष्ठले “जेसुम यात्रा एक अत्यन्तै सकारात्मक अभियान हो। यस्तो सांस्कृतिक अभियानलाई सबैले सघाउनुपर्छ। हामी आज भएका सबै सिर्जनाहरू समेटेर एक पुस्तक प्रकाशित गर्न पनि तयार छौं” भन्नुभयो ।
यस यात्राले सहभागी स्रष्टाहरूलाई केवल थिमीको सांस्कृतिक सम्पदाबारे जानकारी मात्रै गराएन कि तिनलाई सिर्जनाको माध्यमबाट जीवन्त राख्ने प्रेरणा पनि प्रदान गर्यो। जेसुम यात्रा संस्कृति, कला र समाज बीचको सेतु हो, जसले नेपाली पहिचानको जगेर्नामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
यात्रामा स्रष्टा लक्ष्मी माली, शशी लुमुम्बु, अनन्त वाग्ले, जयन्ती स्पन्दन, कल्पना श्रेष्ठ, नन्दु उप्रेती, रजनी मिला, सुन्दर शिल्पकार, संगीतकार अशोक राई, वसन्त मुकारुङ, रामदत्त मिश्र, डम्बर मिश्र लगायत सहभागी थिए ।