रुपन्देही— प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा फैलिरहेको अशान्ति र द्वन्द्व समाधानका लागि गौतमबुद्धका शिक्षा र उपदेश नै प्रभावकारी उपाय भएको बताएका छन्।बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित २५६९औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस–२०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “द्वन्द्व र हिंसालाई हतियार होइन, शान्तिका सन्देशले मात्र रोक्न सकिन्छ।”
भारत–पाकिस्तानबीच केही दिनअघि देखिएको द्वन्द्वात्मक स्थितिमा नेपालसहित अन्तर्राष्ट्रिय जगतको आग्रहपछि युद्ध टरेको उल्लेख गर्दै ओलीले दुवै देशलाई संयमता अपनाएकोमा धन्यवाद दिए। “हामीले शुरूदेखि नै तनावलाई लडाइँमा परिणत हुन नदिउँ भन्ने चाहना राख्यौं,” उनले भने, “दुवै पक्षले लडाइँ नगर्ने प्रतिबद्धता जनाए, त्यसबाट मानव क्षति हुनबाट बच्यौं।”
प्रधानमन्त्रीले युद्ध र हतियारको होडबाजीले मानव अस्तित्व संकटमा परेको भन्दै यसबाट उन्मुक्तिका लागि बुद्धका शान्ति, करूणा र मानवतावादी सन्देशलाई आत्मसात् गर्न आह्वान गरे। लुम्बिनीको विकासबारे बोल्दै प्रधानमन्त्री ओलीले गुरुयोजना निर्माणमा विशेष योगदान दिने प्रा. केञ्जो टाङ्गेप्रति आभार व्यक्त गर्दै गुरुयोजना यथाशक्य छिटो सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले त्रिपिटक निर्माणमा भिक्षु आनन्दको योगदान स्मरण गर्दै तक्षशिलामा लिखित पहिलो त्रिपिटक आज पनि भारतको पटना संग्रहालयमा सुरक्षित रहेको जानकारी दिए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले ध्यान केन्द्रको ‘साउन्ड सिस्टम’ व्यवस्थित गरिने र लुम्बिनी गुरुयोजना कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताए। उनले आगामी जेठ ७ गते अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी बृहत छलफल हुने जानकारी दिए।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई विश्वकै आस्थाको केन्द्र बनाउने लक्ष्यसहित बुद्ध दर्शनलाई अझ व्यापक बनाउन जोड दिए। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाले विश्व शान्ति स्थापनाका लागि बुद्धका उपदेशलाई विश्वव्यापी रूपमा फैलाउनुपर्नेमा जोड दिए। बुद्धजयन्तीको अवसरमा शान्ति, मानवता र करुणाको सन्देश बोकेका बुद्धका शिक्षा अझ सान्दर्भिक र आवश्यक छन् भन्ने सन्देश यो समारोहमार्फत स्पष्ट भएको छ।