काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा कर्णाली क्षेत्रको प्रसिद्ध मार्सी चामलको चर्चा गर्दै त्यसको स्वाद आफूले पनि चाखिसकेको बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले मार्सी चामलको गुणस्तर र ख्याति उल्लेख गर्दै चन्दननाथ क्षेत्रको हवाइ पहुँच र कृषि सम्भावनाको पनि चर्चा गरे।
“चन्दननाथमा एयरपोर्ट नै छ। अगाडिदेखि सन्त चन्दनाथले मार्सी चामल ल्याएर अहिले व्यापकै रूपमा चर्चित भएको छ,” प्रधानमन्त्री ओलीले भने, “कर्णाली, जुम्लाको मार्सी चामल मैले पनि चाखेको कुरा यहाँहरूलाई जानकारी नै छ।”
उनको भनाइसँगै संसदमा हल्का हास्यरस पनि देखिएको थियो। विगतमा नेकपाकालीन समयमा प्रधानमन्त्री ओली, प्रचण्ड र व्यवसायी दुर्गा प्रसाईँले सँगै बसेर मार्सी चामलको भात खाएको तस्वीर सार्वजनिक भएपछि त्यसबारे संसदमा बोल्दा पनि चर्चा चल्यो।
प्रधानमन्त्री ओलीले कर्णाली क्षेत्रमा केही भएको छैन भन्नु यथार्थविपरीत भएको बताउँदै त्यस क्षेत्रको बहुआयामिक सम्भावनाको चर्चा गरे।
“कर्णालीमा यार्सागुम्बा मात्रै होइन, गुछि च्याउजस्ता बहुमूल्य वनजडीबुटी ताप्लेजुङदेखि हुम्लासम्म पाइन्छन्,” उनले भने, “कर्णालीको विकासका सम्भावनाहरूलाई नकार्न मिल्दैन।”
प्रधानमन्त्रीको भनाइले कृषि, पर्यटन र जडीबुटीमार्फत कर्णाली क्षेत्रको समुन्नत सम्भावनालाई उजागर गर्ने सन्देश दिएको छ।