काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था पुनर्स्थापनाको सपना अब कहिल्यै साकार नहुने दाबी गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली उल्ट्याउने प्रयास व्यर्थ हुने चेतावनी दिएका हुन्। “जेठ १५ गते, यसपटकको मात्र होइन, अब आउने कुनै पनि जेठ १५ गते तपाईंहरूको सपना साकार हुने छैन,” प्रधानमन्त्री ओलीले स्पष्ट शब्दमा भने। उनको भनाइ नवराज सुवेदी नेतृत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ले जेठ १५ गतेदेखि राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको मागसहित सुरू गर्न लागिएको आन्दोलनलाई लक्षित थियो।
प्रधानमन्त्री ओलीले राजावादीहरूलाई संविधान, लोकतन्त्र, शान्तिपूर्ण राजनीति र प्रणालीभित्र रहेर आफ्ना विचार राख्न आग्रह गरे। “अधिनायकवादी र निरङ्कुश प्रणाली हुँदा कानुनको दुहाइ दिनेहरू अहिले खुला लोकतान्त्रिक प्रणालीमा प्रतिगमनको शंखघोष गर्दैछन्,” उनले कटाक्ष गरे। समयलाई चिनेर अघि बढ्नुपर्ने सुझाव दिँदै प्रधानमन्त्री ओलीले अन्य मुलुकको उदाहरण समेत उल्लेख गरे। “बंगलादेशमा पनि राजा फर्किएनन्, श्रीलंकामा पनि फर्केनन्,” उनले भने, “राजनीति लोकतन्त्रभित्रको हो, त्यसैले प्रणालीभित्र रहेर नै कुरा गर्न सिक्नुपर्छ।”
प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानमाथि विश्वास राख्न सबै पक्षलाई आग्रह गर्दै प्रतिगामी सपना देख्नेहरूले देशलाई फेरि पछाडि फर्काउने प्रयास नगर्न स्पष्ट संकेत दिएका छन्।