काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा भएको बहसका क्रममा विपक्षी दलका नेताहरूले गालीगलौजको भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन्।
आइतबार प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति स्वस्थ आलोचना गर्नुपर्नेमा टिप्पणीभन्दा बढी गाली भएको टिप्पणी गरेका हुन्।
“विपक्षी दलका नेता तथा माननीयज्यूहरूले टिप्पणीभन्दा बढी गालीगलौजको भाषा बोल्नुभएको थियो,” उनले भने, “म त्यता जान चाहन्नँ। ऐनाअगाडि राख्ने अनि ऐनामा हेर्ने अनि यस्तो रहेछन्, उस्तो रहेछन् भनेर अरूलाई गाली गर्ने प्रवृत्तिबाट टाढा रहनुपर्छ।”
प्रधानमन्त्री ओलीले संसदमा मर्यादित ढंगले आलोचना र सुझावहरू आउनुपर्ने अपेक्षा राखेको उल्लेख गर्दै स्वस्थ लोकतान्त्रिक अभ्यासको सम्मान गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए। उनको भनाइमा सत्तापक्ष र विपक्ष दुवैको भूमिका लोकतन्त्रमा महत्त्वपूर्ण भए पनि भाषा र शैली मर्यादित हुनुपर्ने सन्देश झल्किन्छ। यससँगै प्रधानमन्त्री ओलीले नीति कार्यक्रम जनमुखी, विकास उन्मुख र व्यावहारिक भएको दाबी पनि गरे।