काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा संसदमा विचाराधीन रहेका ६ वटा महत्त्वपूर्ण विधेयक यथाशीघ्र पारित गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ती विधेयकहरू शीघ्र पारित गर्न संसदसमक्ष प्रस्ताव गरेका हुन्।
प्रधानमन्त्रीका अनुसार पारित गर्नुपर्ने विधेयकहरूमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, संघीय निजामती सेवासम्बन्धी विधेयक, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक छन्।
यस्तै, विद्यालय शिक्षा विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि यथाशीघ्र पारित गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।
प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा सरकार र नेपाल शिक्षक महासंघबीच आगामी असार १५ गतेभित्र विधेयक पारित गर्ने सहमति भइसकेको जानकारी दिए।
“देशको समृद्धि र संस्थागत विकासका लागि आवश्यक कानुनी संरचना निर्माणमा ढिलाइ गर्नु उपयुक्त हुँदैन,” प्रधानमन्त्री ओलीले भने, “यी विधेयकहरू जनताको हितमा रहेका छन् र संसदले आफ्नो जिम्मेवारी वहन गरेर शीघ्र पारित गर्नु आवश्यक छ।”
प्रधानमन्त्रीको भनाइले सरकारले विधायन प्रक्रियालाई गति दिन खोजेको सन्देश दिएको छ।