काठमाडौं – सगरमाथा संवादको पहिलो संस्करणका लागि भारत सरकारले नेपाललाई १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ। परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित एक विशेष समारोहमा भारतीय राजदूत नवीन श्रीवास्तवले ती सवारीसाधन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई हस्तान्तरण गरेका हुन्।
सगरमाथा संवाद यही मे १६ देखि १८ सम्म काठमाडौंमा आयोजना हुँदैछ। उक्त संवादलाई सफल बनाउन भारतले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै परराष्ट्रमन्त्री देउवाले भनिन्, “भारत सरकारको यो सहयोग उल्लेखनीय छ। जलवायु परिवर्तन नेपाल मात्र नभई सम्पूर्ण दक्षिण एसियाको साझा चुनौती भएकाले यसका समाधानका लागि क्षेत्रीय सहकार्य अपरिहार्य छ।” उनले सगरमाथा संवाद जलवायु परिवर्तनसम्बन्धी क्षेत्रीय समस्याको समाधान खोज्न सामूहिक प्रयासको एउटा प्रभावकारी मोडल बन्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र जनस्तरको आधारमा मजबुत रहेको उल्लेख गर्दै सगरमाथा संवादका लागि सवारीसाधन उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गरे। “जलवायु परिवर्तन हाम्रो साझा समस्या हो,” उनले भने, “यसको समाधानमा भारत नेपालसँग सहकार्य गर्न तत्पर छ।”
सगरमाथा संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र नेपाल सरकार अब विभिन्न मुलुकका उच्चपदस्थ पाहुनाहरूको स्वागतका लागि तयार रहेको परराष्ट्रमन्त्री देउवाले जानकारी दिइन्। सगरमाथा संवाद नेपालको नेतृत्वमा क्षेत्रीय तथा विश्वस्तरीय जलवायु बहसलाई एकीकृत गर्ने प्रयासका रूपमा हेरिएको छ।