कैलालीमा मानसिक रुपमा अस्वस्थ किशोरीमाथि जबरजस्ती करणी, दुई जना पक्राउ

कैलाली — कैलालीको चुरे गाउँपालिका–४ की २५ वर्षीया एक मानसिक रुपमा अस्वस्थ किशोरीमाथि जबरजस्ती करणी गरिएको घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती किशोरीमाथि दुई जनाले पालैपालो बलात्कार गरेको खुल्न आएको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षणका क्रममा करिब २४ हप्ताको गर्भ पाइएको थियो। त्यसपछि मात्र घटना सार्वजनिक भएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार पीडित किशोरीले आफूमाथि बलात्कार गरेको किटानी विवरण दिएपछि अनुसन्धानको आधारमा दुई जनालाई नियन्त्रणमा लिइएको हो। “किशोरीले नामै लिएर दिएको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको छ,” डिएसपी चन्दले भने, “अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ र दोषी को हुन् भन्ने विषयमा थप प्रमाण संकलन भइरहेको छ।”

डिएसपी चन्दका अनुसार पीडित किशोरी मानसिक रूपमा पूर्ण स्थिर नभए पनि शान्त अवस्थामा केही कुराकानी गर्न सक्ने जनाइएको छ। तर, कहिलेकाहीं अचानक रिस, झोक वा अन्य भावनात्मक प्रतिक्रिया देखाउने भएकाले बयान संकलनमा केही समय लाग्ने प्रहरीको भनाइ छ। यस घटनाले मानसिक रूपमा असहाय व्यक्तिहरूको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ। स्थानीय प्रशासनले दोषीलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाएको छ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्