भारत–पाकिस्तान तनाव: पाकिस्तानको ‘निर्णायक जवाफ’, सर्वसाधारण त्रस्त

काठमाडौं — भारत–पाकिस्तानबीचको पछिल्लो तनाव चुलिँदै जाँदा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतको आक्रमणको प्रतिशोधस्वरूप ‘संगठित, सशक्त र निर्णायक’ जवाफी कारबाही गरिएको घोषणा गरेका छन्। उनका अनुसार, भारतका ठूला सैन्य संरचनाहरूलाई लक्ष्य बनाउँदै पाकिस्तानले मिसाइल र ड्रोनमार्फत आक्रमण गरेको हो।

प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, “आज हामीले निर्दोषहरूको रगतको बदला लिएका छौं। भारतलाई उपयुक्त जवाफ दिइएको छ।” शरीफले यो कारबाहीलाई ‘राष्ट्रिय सुरक्षाको रक्षा’ को रूपमा व्याख्या गरेका छन्।

दुवै देशबीचको यो सैन्य तनावले सर्वसाधारणको जनजीवनमा गम्भीर असर पारेको छ। जम्मु-कश्मीरका विभिन्न क्षेत्रमा भइरहेको गोलीबारीपछि जम्मु रेलवे स्टेशनमा प्रवासी मजदुरहरूको भीड लागेको छ। बिहार, उत्तर प्रदेश, झारखण्ड लगायत राज्यका मजदुरहरू ज्यान जोगाउन घर फर्किन बाध्य भएका छन्।

भारतले पहलगाम आक्रमणको प्रतिशोधमा पाकिस्तानमा हवाई हमला गरेपछि उत्पन्न परिस्थितिले दुई देशबीचको सम्बन्धलाई अत्यन्तै संवेदनशील मोडमा पुर्‍याएको छ। तोपखाना, मिसाइल र ड्रोनमार्फत भएको आक्रमणहरूको श्रृंखलाले जनधनमा क्षति पुर्‍याइरहेको छ। अलजजिराका अनुसार पाकिस्तानतर्फ हालसम्म १० भन्दा बढीको मृत्यु र ५० भन्दा बढी घाइते भएका छन्।

पछिल्ला घटनाक्रमले दुवै देशमा व्यापक जनआतङ्क फैलिएको छ। पाकिस्तानले भारतको उत्तरी क्षेत्रमा रहेका मिसाइल भण्डारण केन्द्रसहित विभिन्न सैन्य अड्डाहरूमा हमला गरेको दाबी गरेको छ। भारतले उधमपुर, पठानकोट, आदमपुर र भुजस्थित वायुसेना अड्डाहरूमा क्षति भएको जनाएको छ। साथै, पञ्जाबका एयरबेसहरूमा उच्च गतिको मिसाइल आक्रमण भएको बताइएको छ।

राजौरी जिल्लामा पाकिस्तानी गोलाबारीका कारण प्रमुख अधिकारी राजकुमार थाप्पाको मृत्यु भएको पुष्टि भएको छ। भारत-प्रशासित कश्मीरमा विष्फोटको आवाज सुनिएको छ भने विभिन्न क्षेत्रमा मिसाइलका टुक्रा फेला परिरहेका छन्।

स्थिति भयावह बन्दै गइरहेको बेला सम्पूर्ण उडानहरू स्थगित छन्, विद्यालयहरू बन्द छन् र सार्वजनिक यातायात ठप्प छ। यसले अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पुर्‍याएको छ। विश्लेषकहरूका अनुसार यदि पूर्ण युद्धको रूप लियो भने यसको विनाशकारी असर सर्वसाधारणमाथि पर्न सक्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्