काठमाडौँ – भारत र पाकिस्तानबीच जारी सैन्य तनावका कारण भारतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले देशका उत्तर तथा पश्चिम भागका ३२ वटा विमानस्थलहरूबाट हुने सबै नागरिक उडानहरू स्थगन गर्ने निर्णय गरेको छ। यो निर्णय १५ मे बिहान ५ बजेर २९ मिनेटसम्म लागू रहनेछ।
भारतीय विमानपत्तन प्राधिकरण (AAI) तथा सम्बन्धित विमानन निकायहरूले ‘नोटिस टु एयरम्यान’ (NOTAM) जारी गर्दै यसबारे जानकारी दिएका छन्।
उडान स्थगित गरिएका प्रमुख विमानस्थलहरूमा उधमपुर, अंबाला, अमृतसर, अवंतीपुरा, बठिंडा, भुज, बीकानेर, चंडीगढ़, हलवारा, हिंडन, जैसलमेर, जम्मू, जामनगर, जोधपुर, कांडला, कांगड़ा (गग्गल), केशोद, किशनगढ़, कुल्लू मनाली (भुंतर), लेह, लुधियाना, मुंद्रा, नलिया, पठानकोट, पटियाला, पोरबंदर, राजकोट (हीरासर), सरसावा, शिमला, श्रीनगर, थोईस र उत्तरलाई रहेका छन्।
एयर इन्डियाले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत जानकारी दिँदै जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चंडीगढ़, भुज, जामनगर र राजकोट जाने र त्यहाँबाट फर्किने सबै उडानहरू १५ मे बिहान ५:२९ बजेसम्म रद्द गरिएको जनाएको छ।
भारत-पाकिस्तानबीचको तनाव अझ चर्किँदै गएपछि भारतीय प्रशासनले नागरिक सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको बताइएको छ।