भारत–पाकिस्तान तनाव उत्कर्षमा : दक्षिण एसियामा युद्धको त्रास !

इस्लामाबाद/नयाँ दिल्ली – भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा ‘हवाई हमला’ गरेपछि दुई परमाणु शक्ति राष्ट्रहरूबीचको तनाव चरम बिन्दुमा पुगेको छ। भारतीय सेनाले यो कारबाहीलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ।

भारतको रक्षा मन्त्रालयले मंगलबार राति १:०५ देखि १:२५ बजेसम्मको अवधिमा पाकिस्तान र पाक-नियन्त्रित कश्मीरमा रहेका आतंकवादी संरचनालाई लक्षित गर्दै हमला गरेको पुष्टि गरेको छ। भारतकी सेनाकी कर्नेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै भारतले सीमापार आक्रमण ‘बर्बर पहलगाम आक्रमणको प्रत्युत्तर’मा गरेको बताइन्।

भारतका विदेश सचिव विक्रम मिस्रीले कारबाहीलाई ‘निशाना केन्द्रित र नापतोलिएको’ भन्दै सीमापार आतङ्ककारी गतिविधिको जवाफमा गरिएको आवश्यक कार्यवाही भनेका छन्।

भारी क्षति, दुईतर्फी हताहती

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतको हवाई हमला र त्यसपछि नियन्त्रण रेखामा भएको गोलाबारीमा परी २६ जना पाकिस्तानी नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएका छन्। भारततर्फ पनि नियन्त्रण रेखामा भएको झडपमा कम्तीमा १५ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको भारतीय स्रोतले जनाएको छ।

पाकिस्तानस्थित चरमपन्थी संगठन जैश–ए–मोहम्मदले भारतले गरेको हवाई हमलामा संगठनका प्रमुख मसूद अजहरका परिवारका १० सदस्य र चार सहयोगी मारिएको दाबी गरेको छ।

पाकिस्तानले भारतीय कारबाहीको जवाफमा पाँच लडाकु विमान खसालेको दाबी गरेको छ। पाकिस्तानी सेनाले एक भिडियो सार्वजनिक गर्दै राफेलसहितका विमानहरू खसालेको पुष्टि गरेको छ। भारतले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। बिबिसी उर्दू सेवाले जम्मु-कश्मीरको पोम्पोर क्षेत्रमा एउटा विमानको भग्नावशेष भेटिएको बताएको छ तर त्यसबारे स्पष्ट जानकारी आएको छैन।

अन्तर्राष्ट्रिय चिन्ता

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमामा भइरहेको सैन्य कारबाही ‘अत्यन्त चिन्ताजनक’ रहेको बताउँदै दुवै देशलाई संयम अपनाउन आह्वान गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय कारबाहीलाई ‘लाजमर्दो’ भन्दै चाँडै तनाव अन्त्य होस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले अमेरिकाका विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी गर्दै कारबाहीबारे जानकारी गराएका छन्।

राजनीतिक प्रतिक्रिया र मानवीय संकट

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समा लेख्दै शत्रुले पाकिस्तानका पाँच ठाउँमा कायरतापूर्ण हमला गरेको र त्यसको जवाफ दिइरहेको बताएका छन्। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतले आतंकवादी अखडाहरू नभई नागरिक क्षेत्रलाई लक्षित गरेको आरोप लगाउँदै दुई मस्जिदमा आक्रमण भएको र एक बच्चा तथा एक महिला सहिद भएको बताएका छन्।

भारतको आक्रमणपछि जम्मु–कश्मीरको पुंछ, राजौरी, मेन्ढर र उरी सेक्टरमा पनि गोलाबारी भएका छन्। स्थानीय बासिन्दाहरू त्रसित अवस्थामा अस्पताल तथा सुरक्षित स्थानमा पलायन गरिरहेका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्