नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती : सांसद एनपी साउद (भिडियो)

काठमाडौँ,  – नेपाली कांग्रेसका सांसद एनपी साउदले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान चुनौतीपूर्ण हुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै उनले देशको अर्थतन्त्र विगत केही वर्षदेखि शिथिल अवस्थामा रहेको उल्लेख गर्दै आर्थिक सुधारका लागि सरकार गम्भीर र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।

सांसद साउदले नीति तथा कार्यक्रम प्रभावकारी बनाउँदै बजेट छरिने शैलीमा नल्याउन चेतावनी दिए। “विगतमा स्रोत सुनिश्चित नगरी राजनीतिक दबाब र भनसुनको आधारमा बजेट बिनियोजन गरिएका उदाहरणहरू छन्,” उनले भने, “आगामी बजेटमा यस्तो पुनरावृत्ति हुन नदिनुपर्छ। संघीयताको मर्मअनुसार आयोजना छनोट हुनुपर्छ।”

शिक्षा क्षेत्रमा विद्यालयहरू साझेदारीमा सञ्चालन गर्ने भनिएको विषयमा उनले त्यसका लागि आवश्यक मोडिलीटी तयार गर्नुपर्ने बताए। उनले सुकुम्बासी समस्यालाई दीर्घकालदेखि राजनीतिकरण गरिएको भन्दै अब समाधानमुखी रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।

कृषिक्षेत्रको सन्दर्भमा उनले देशलाई आत्मनिर्भर बनाउने गरी योजनाबद्ध कार्यक्रम र पर्याप्त बजेट आवश्यक रहेको बताए। “कृषिमा आत्मनिर्भरता हासिल गर्न सुधारका कार्यक्रमहरू ल्याइनुपर्छ,” उनले भने।

शान्ति प्रक्रिया राजनीतिक दाउपेचको विषय नबनाउन आग्रह गर्दै सांसद साउदले समाधानमुखी मार्गमा अघि बढ्न सरकारलाई सुझाव दिएका छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्