प्रचण्डको चोटका कारण सुदूरपश्चिम संसदीय दलसँगको छलफल स्थगित

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम प्रदेश संसदीय दलबीच आजका लागि तय भएको छलफल स्थगित गरिएको छ। अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते भएपछि दिउँसो १ बजे खुमलटारस्थित निवासमा तय भएको बैठक रोकिएको हो।

सुदूरपश्चिम प्रदेशका सांसद शिवसिंह ओलीका अनुसार संसदीय विवाद समाधानका लागि प्रचण्डले आफैं सांसदहरूलाई काठमाडौं बोलाएका थिए। तर अहिले भर्खरै बैठक स्थगित भएको खबर आएको छ।

२०७९ सालदेखि जारी सुदूरपश्चिम माओवादी संसदीय दलभित्रको नेतृत्व विवाद अझै समाधान हुन सकेको छैन। २०८० फागुनमा दलका तत्कालीन नेता खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई नेताका रूपमा चयन गरिएपछि विवाद उत्कर्षमा पुगेको हो। अध्यक्ष प्रचण्डले पटक–पटक सहमतिको आधारमा समाधान गर्न निर्देशन दिए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन। यसबीच सुदूरपश्चिमका सांसदहरू विभाजित हुँदै आन्तरिक खिचातानी जारी छ।

अब छलफल कहिले पुनः तय हुने भन्नेबारे स्पष्ट सूचना आइसकेको छैन। प्रचण्डको स्वास्थ्य स्थिति सुधार भएपछि मात्र बैठक पुनः बोलाइने जनाइएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्