काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले पाकिस्तानको उच्चस्तरीय सैनिक टोलीको हालैको नेपाल भ्रमणप्रति आपत्ति जनाएका छन्। संसदको बैठकमा बोल्दै साउदले छिमेकी मुलुकमा जघन्य आतंककारी हमला भएको र त्यसमा नेपाली नागरिकसमेत मारिएको सन्दर्भमा नेपालमा पाकिस्तानी सैन्य टोलीको आगमन उपयुक्त नभएको स्पष्ट पारे।
“भ्रमण पूर्व निर्धारित भए पनि अहिलेको संवेदनशील अवस्थामा कूटनीतिक संयमता अपनाउँदै भ्रमण स्थगन गरिनु आवश्यक थियो,” उनले भने। साउदले हालै भारतीय राज्य जम्मु-कश्मीरमा भएको आतंककारी हमलालाई स्मरण गराउँदै त्यस्तो अवस्थामा पाकिस्तानसँग सैन्यस्तरको सम्पर्क राख्नु नेपालजस्तो संवेदनशील देशका लागि चुनौतीपूर्ण निर्णय हुन सक्ने औंल्याए। उनले क्षेत्रीय अस्थिरता र बढ्दो द्वन्द्वको सन्दर्भमा नेपाल सरकारले कूटनीतिक चातुर्यता प्रदर्शन गर्नुपर्ने आवश्यकता रहेको बताए।
हाल पाकिस्तानी सेनाको एक टोली तालिमका लागि काठमाडौं आएको छ। यस विषयमा संसदमा उठेको प्रश्नले सरकारको विदेश नीति र कूटनीतिक प्राथमिकताप्रति थप बहस सुरु भएको देखिन्छ।