काठमाडौं – भारतले पाकिस्तानविरुद्ध हवाई हमला गर्दै सुरु गरेको ‘अपरेशन सिन्दूर’ प्रति चीनले औपचारिक प्रतिक्रिया जनाएको छ। बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भारतको सैन्य कारबाहीलाई ‘खेदजनक’ बताएका छन्।
पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानहरूमा भारतीय वायुसेनाले आक्रमण गरेपछि क्षेत्रीय तनाव चुलिएको छ। दक्षिण एसियाली छिमेकी मुलुकहरूबीचको बढ्दो तनावबारे सोधिएको प्रश्नमा, प्रवक्ता माओ निङले चीन यो अवस्थाप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेको बताएका हुन्।
चीनको अपील : शान्ति र संयमता
प्रवक्ता माओ निङले भने,
“चीन भारतको आज बिहानको सैन्य कारबाहीलाई खेदजनक ठान्दछ। चीन वर्तमान परिस्थितिप्रति चिन्तित छ। भारत र पाकिस्तान सधैंका लागि छिमेकी रहने मुलुकहरू हुन्। हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत्तर हितका लागि सोच्न, शान्त रहन, संयमता अपनाउन र अवस्थालाई थप जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गर्छौं।”
चीनको स्पष्टता : आतंकवादको विरोधमा अडिग
चीनले स्पष्ट रूपमा भनेको छ कि उनीहरू सबै प्रकारका आतंकवादको विरोध गर्छन्। तर, त्यसको सामना गर्दा क्षेत्रीय स्थायित्व, नागरिक सुरक्षाको ख्याल र छिमेकी मुलुकबीचको संवादप्रति प्रतिबद्धता जरुरी भएको चीनको धारणा देखिएको छ।
भारतले आतङ्ककारी पूर्वाधारमाथि कारबाही गरेको दाबी गरे पनि पाकिस्तानले त्यसलाई आक्रामकता र सार्वभौमिकतामाथिको हस्तक्षेप भनेको छ। यस्तोमा चीनजस्तो शक्तिशाली राष्ट्रको प्रतिक्रियाले दक्षिण एसियाली परिस्थितिलाई अन्तर्राष्ट्रिय कूटनीतिक सरोकारको केन्द्रमा ल्याएको छ।